सिराज खान
नेपालगन्ज, फागुन ३ गते। सन् २०३० सम्म नेपाललाई हात्तीपाइले रोगमुक्त देश घोषणा गर्ने सरकारको लक्ष्य भए पनि बाँकेका कारण सो लक्ष्य पूरा नहुने देखिएको छ। बाँकेका तीन वटा पालिकाका कारण सो लक्ष्य पूरा हुन समस्या आउने देखिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले देशभरिका सबै जिल्ला पहिलो चरणको सर्वेमा पास भए पनि बाँकेका तीन वटा पालिका र एउटा पालिकाको एक वडामा अझै सङ्क्रमित भेटिएपछि पहिलो सर्वेमा बाँके फेल भएको र सोही कारणले नेपालकै लक्ष्य पूरा हुनेमा समस्या देखिएको बताउनुभयो।
बाँकेका तीन पालिकामा १.८ देखि २.२ प्रतिशतसम्म मानिस सङ्क्रमित भेटिएकोले सन् २०३० सम्म नेपाललाई हात्तीपाइले रोगमुक्त देश घोषणा गर्न समस्या देखिएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोले जनाउनुभयो।
६ वर्षमा लक्ष्य पूरा गर्ने उदेश्यसहित बाँकेमा सुरु गरिएको हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान अन्तर्गत सबैले औषधी नखाँदा १४ वर्ष पुगेपनि अझै अभियान सफल हुन नसकेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो।
उहाँले लगातार १३ वर्षसम्म औषधी खुवाउने अभियान चलाउँदा पनि जिल्लाको नेपालगन्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर चारमा सङ्क्रमित भेटिएपछि सो अभियान सफल हुन नसकेको बताउनुभयो।
नेपालमा अब बाँके जिल्लामा मात्र औषधी खुवाउनुपर्ने अवस्था भएका कारण १४ औँ पटक फागुन पाँच गतेदेखि आम औषधी सेवन कार्यक्रम सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीको भनाइ छ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रूपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागिदिन सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ।
उहाँले यस पटक लक्षित पालिकाका सबैले औषधी खाएनन् भने सन २०३० सम्म नेपाललाई हात्तीपाइले रोग मुक्त देश बनाउने लक्ष्य पूरा नहुने बताउनुभयो।
यस पटक जिल्लाका तीन पालिकामा सञ्चालन गरिने औषधी सेवन अभियानको नेतृत्व गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेल स्वयं नेपालगन्ज आउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपालगन्जमा ३३.२८ प्रतिशत मानिसले औषधीको साइड इफेक्ट हुने डरका कारण तथा ३२.५३ प्रतिशत मानिसले जनचेतनाको कमीका कारण औषधी सेवन नगरेको एक अध्ययनबाट जानकारी भएकोले यस पटक लक्षित सबैलाई औषधी खुवाउने गरी अभियान सञ्चालन गर्नुपर्नेमा अधिकांशको जोड छ।