• ३ फागुन २०८१, शनिबार

शल्य चिकित्सा सेवा लिन विदेशिनेको दर न्यून हुँदैछ : डा. अधिकारी

blog

काठमाडौं मेडिकल कलेजका चिकित्सक डा स्पन्दन अधिकारी । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, फागुन ३ गते । प्राचिन समयदेखि नै चिकित्साका दुई वटा भाग छन् । एउटा काय चिकित्सा (मेडिसिन) र अर्को शल्य चिकित्सा (शल्यक्रिया) । यसै आधारमा चिकित्सकहरू पनि दुई किसिमका हुन्छन्, फिजिसियन र सर्जन । तर दुवै औषधी उपचारको माध्यमबाट हुने गर्दछ । शल्य चिकित्सामा चिकित्सकको हस्तकौशलको भूमिका हुने गर्दछ भने काय चिकित्सामा औषधोपचार नै सर्वेसर्वा हो ।

न्यूज एजेन्सी नेपालले काठमाडौँ मेडिकल कलेजका चिकित्सक डा. स्पन्दन अधिकारीसँग नेपालको समग्र शल्य चिकित्साको अवस्थाबारे प्रश्न गरेका छौँ । नेपालको शल्य चिकित्सा सेवा अहिले विस्तारै देशभर फैलिरहेको बताउनुभयो । उहाँले करारका भए पनि गाउँगाउँमा चिकित्सक पुगेको बताउनु भयो । शल्य चिकित्सासम्बन्धीका समान्य बिरामी पनि काठमाडौँ आउनुपर्ने अवस्थाको अन्त्य हुँदै गएको बताउनुभयो ।

नेपालमा शल्य चिकित्साको समग्र अवस्था कस्तो छ ?

– शल्य चिकित्सा सेवा अहिले देशभर विस्तार हुँदै गइरहेको छ । पहिले काठमाडौंमा मात्र हुन्थ्यो । करारका चिकित्सक भए पनि गाउँ गाउँमा पुग्न थाल्नुभएको छ । पहिले शल्य चिकित्सासम्बन्धीका समान्य बिरामी पनि काठमाडौँ आउनुपर्ने अवस्था थियो भने अहिले धेरै उपचारहरू गाउँघरतिर नै हुन थालेका छन् ।

अहिले रिफर भएर आउँदा पनि थप उपचार चाहिने बिरामी मात्र आइरहेका हुन्छन् । अर्को जुन तपाईंले जनशक्तिको कुरा गर्नुभयो । अहिले देशभर फैलिनुभएको छ । यो राम्रो कुरा पनि हो ।

शल्य चिकित्सा सेवा पहिले केन्द्रिकृत थियो, अहिले विकेन्द्रिकृत भइरहेको बेला यसमा जनशक्तिको पाटो धेरै नै महत्त्वपूर्ण होला, केही शल्यक्रियाका घटनाहरूमा चिकित्सकको कमीका कारण दुर्घटना भएका घटनाहरू समेत बाहिरिने गरेका छन्, सेवा प्रवाहकको हिसाबले शल्य चिकित्सा सेवामा सन्तोष गर्ने ठाउँ छ ?

– सर्जकको गल्तीका कारण समस्या हुने गरेको बुझाई आम नागरिकमा छ । यस्ता कुराहरू जानी जानी  हुने कुराहरू पनि होइनन् । अर्को यस्तो कुरा एकदमै रेयर केसहरूमा मात्र हुन्छ । हामीले टिममा काम गर्ने हो । मिडियामा एकापट्टि अपरेसन गर्नुपर्ने अर्कोतिर गरिदियो भन्ने सुनिन्छ । यी एकदमै दुर्लभ घटनाहरू हुन् । हामीले अपरेसन गर्दाखेरिको अपरेसन रूपमा ल्याउनुभन्दा अगाडि एउटा डब्लुएचओ चेकलिस्ट भन्ने हुन्छ । त्यो चेकलिस्टअनुसार अपरेसन रुममा छिराउनुभन्दा अगाडि नै बिरामीको नाम के हो ? कस्तो खाले शल्यक्रिया गरिने हो ? यो सबै सोधेर स्पष्ट गर्ने गरिन्छ । ओटीमा जसले छिराउने हो उसले नै कन्फर्म गरेको हुन्छ ।

त्यसपछि अपरेसन रुममा लगेर बिरामीलाई सुताइसकेपछि बेहोस् गर्नु अगाडि पनि डाक्टर साबहरूले कन्फर्म गर्नुहुन्छ । अर्को लेभल अफ चेक त्यहाँनिर हुन्छ । बेहोसीको औषधी दिइसकेपछि अपरेसन गर्ने चिकित्सकले पनि आफ्नो टिम मेम्बरहरूसँग यो सबै कुराहरू सेयर गरेको हुन्छ । र अपरेसनको बखत अपरेसन सकिने बेलामा पनि कैँचीहरू छुट्ने कुराहरूमा अपरेसन टिममा रहेका डाक्टर र नर्सहरूले त्यहाँ कोठामा ल्याइएका सामानहरू गनिएको हुन्छ ।

कति वटा कैँची छन् भनेर पनि गनिएको हुन्छ । अपरेसन सुरु हुनुभन्दा अगाडि कति वटा समान थियो । त्यति नै क्लोजको बेलामा छन् कि छैनन् भनेर गनिन्छ । केही सामान नपुगेको अवस्था भेटियो भने बन्द गर्नुपूर्व सबै सामानहरू खोजिन्छ । त्यही भएर यस्ता घटनाहरू अक्कलझुक्कल हुने घटनाहरू हुन् । चरणबद्ध रूपमा काम गर्दै जाँदा दुर्घटना हुने एउटा कुरा भयो नत्र त्यस्ता समस्याहरू हुँदैनन् ।

शल्य चिकित्साको सेवा प्रवाहका लागि हामीसँग पर्याप्त जनशक्ति र गुणस्तरीय सेवा छ वा आज पनि सर्जरी गर्नका लागि विदेश जानुपर्ने अवस्था यथावत छ ?

– पहिलेको तुलनामा त अहिले धेरै नै राम्रो भइसक्यो । अहिले केएमसीमा त न्यूरो सर्जरीका लागि रोबर्ट नै आइसकेको अवस्था छ । हामी शल्य चिकित्सामा अलि पछाडि भनेको रोबर्टको कुरामा चाहीँ हो । जुन अपरेसनहरू रोबर्टको आधारमा गरिने अपरेसन हुन्छ त्यस्तो रोबर्टको आधारमा हुने शल्यक्रिया चाहीँ हुँदैन । त्यो बाहेक अरू अपरेसनहरू जस्तै दूरपिनबाट गरिने अपरेसन लगायतका कामका लागि केएमसीमा त्यस्तो समस्या छ जस्तो मलाई लाग्दैन ।

समग्र देशको अवस्था चाहीँ कस्तो छ ?

– समग्र देशको कुरा गर्ने हो भने केही समस्याहरू रहेका छन् । कतिपय ठाउँमा अपरेसन गर्ने डाक्टरहरू जानुभएको हुन्छ तर मेसिन नै हुँदैन । यो पनि क्रमशः सुधार हुँदै आइरहेको अवस्था चाहीँ छ । अहिले डडेलधुरामा नै दूरपिन प्रविधिको माध्यमबाट पित्तथैली र एपेन्डिक्सको अपरेसन भयो । बागलुङबाट दुई वर्षजति समयदेखि हर्नियाका बिरामीको रेफर हुन छोड्यो । चिकित्सकहरू विस्तारै विकेन्द्रिकृत हुँदै जाँदाखेरि जनताले सुविधा त पाई नै रहनुभएको छ । तर विस्तार गर्नुपर्ने धेरै छ । यो सहरमा भन्दा पनि शल्य चिकित्सा सेवा गाउँ गाउँमा पुग्नुपर्छ भन्ने मलाई लाग्छ ।

नेपालको शल्य चिकित्सा सेवामा नागरिकले विश्वास गर्न सकिरहेको अवस्था छैन, अहिले पनि धेरै मानिस सर्जरीका लागि भारत लगायत जाने अवस्था देखिन्छ, यसको मुख्य कारण के होला ?

– उपचारका लागि बाहिरिने मानिसका लागि कस्तो हुन्छ भन्दा जस्तै अङ्ग प्रत्यारोपणको कुरा गरौं । नेपालमा कलेजो प्रत्यारोपण हुन थालेको दुई÷चार वर्षजति भयो । प्रत्यारोपण गर्ने मान्छेको उमेर ५०/६० वर्ष हुन्छ । उनीहरूले नेपालमा भन्दा अङ्ग प्रत्यारोपण बाहिर राम्रो हुन्छ भन्ने सुनि राख्नुभएको हुन्छ । त्यसले पनि केही प्रभाव पारेको देखिन्छ । अर्को नेपालमा सुरुवाती चरणमा रहेको हुनाले पनि विश्वास गर्न नसकेको हो कि । तर विस्तारै शल्य चिकित्सा सेवा लिनका लागि विदेशिनेको दर न्यून हुँदै गएको जस्तो लाग्छ ।

शल्य चिकित्सा के हो ?

– हामी नेपालीको मानसिकता अपरेसन अन्तिम चरणमा गर्नेकुरा हो भन्ने छ । अपरेसन हत्तपत्त गर्नुहुँदैन । हुँदै नभएपछि गर्ने कुरा हो भन्ने मानसिकता नेपाली समाजमा अहिले पनि कायमै छ । यसमा डराउनुपर्ने अवस्था विद्यमान छ । तर शल्य चिकित्सा भनेको मेडिकल साइन्सको एउटा विधा हो जसले आफ्नो जीवनलाई सरल बनाउने काम गर्छ । अपरेसन क्यान्सर भएपछि मात्र गर्ने भन्ने कुरा हुँदैन । एउटा सामान्य पिलाेले पनि मानिसलाई ठुलो समस्या दिइरहेको हन्छ । यदि पछाडि पिलो आएको छ भने मान्छेले बताउँदैन ।

गुप्ताङ्गमा भएको रोग भनेर मानिसले लुकाउने गर्छन् । तर त्यो धेरै ठुलो कुरा त छैन नि पाँच मिनेट मात्र लाग्ने हो । त्यो पिलोलाई निकाल्न सक्यो भने शरीरलाई पीडा हुँदैन, शरीरमा ज्वरो आउँदैन । हामीले यस्तो पनि देखेका छौं कि–पिलोलाई पाइल्स भन्ने सोचेर बसेर त्यसको पीप शरीरभरी फैलिएपछि अपरेसनका लागि हस्पिटल आउँदा पनि ज्यान बचाउन सकिएन । त्यो हाम्रो लागि पनि दुखद कुरा हो । अब यही कुरा हामीले दुखेको बेला आएर काम गरेको भए ज्यान बच्थ्यो ।

ग्यास्टिक भयो भनेर आउनुहुन्छ । अनि पत्थरी देखियो भने अपरेसन गर्न मानिसहरू अन्कनाउनु हुन्छ । अपरेसन गर्दाखेरि रिस्क छ, नहुने होइन । तर कुन टाइपको अपरेसन गर्ने हो ? कुन टाइपको शल्य चिकित्सा गर्ने हो त्यही हिसाबको जोखिमहरू छन् । तर जोखिमभन्दा पनि बढी लाभदायक छ भने मात्रै चिकित्सकले सल्लाह दिने हो । ढिलोभन्दा पनि फस्ट स्टेजमै अपरेसन गर्दा ठिक हुन्छ । हामीले अपरेसन गर्न मिल्दैन भनेर पठाएका पनि धेरै बिरामीहरू हुनुहुन्छ । तर सुरुवाती चरणमै अपरेसन गर्दाखेरि आफ्नै जीवनयापनमा सहज हुने हुन्छ । हामीले अपरेसन गर्दाखेरि बिरामी बेहोसीबाट उठ्न सक्छ कि सक्दैन ? अपरेसन धान्नसक्छ कि सक्दैन ? शारीरिक अवस्था कस्तो छ ? अपरेसन गर्दाखेरि पूरै शरीर बेहोस गर्ने हो कि आधा ज्यान मात्रै लठ्याएर गर्ने हो ? अपरेसन गर्नुभन्दा पहिले नै यी सबै कुराहरू जाँच गरिन्छ ।

यो बिरामीलाई यसरी अपरेसन गर्ने भन्ने कुरामा क्लियर भएपछि मात्रै अपरेसन कोठामा लाने हो । जोखिम न्युनीकरण गरेर बल्ल इलेक्टि अपरेसन गरिन्छ । त्यही भएर धेरै आत्तिनुपर्ने कुरा छैन । अपरेसन गर्नु नै हुन्न भन्नेकुरा विस्तारै चिरिँदै पनि गएको छ । यसरी नै विस्तारै हुँदै जाला ।

शल्य चिकित्सा गर्दा अस्पतालहरूले बिरामीसँग गर्ने सम्झौताहरूका कारण पनि बिरामी अपरेसन गर्न मान्ने नगरेको भनिन्छ नी ?

– हामीले हाम्रो बिरामीको अपरेसन गर्नुभन्दा अगाडि नै हुनसक्ने सम्भावित जोखिमहरू के के हुन् ? त्यो सबै भन्नुपर्ने हुन्छ । जुन कुराको रिस्क एक प्रतिशतभन्दा बढी छ त्यो कुरा बिरामीलाई भन्नु पनि पर्दछ । त्यो सबै कुराहरू लिखित रूपमा डकुमेन्ट पनि गर्नुपर्छ । अपरेसनदेखि डराउने मानिसलाई हामीले यी सब कुराहरू गर्दा आत्तिने नै भयो । झन त्यसमा हाम्रो कर्तव्य चाहीँ के हो भन्दाखेरि फाइदा र बेफाइदाहरू राम्ररी छुट्याइदिनुपर्छ । हाम्रो काम भनेको उहाँहरूलाई सल्लाह दिने हो । सल्लाह दिने क्रममा अपरेसनको फाइदा र बेफाइदा तथा गर्दा र नगर्दाको परिणामबारे जानकारी गराउन सक्ने हो भने सायद हजुरले भनेको कुरामा कम गर्न सकिन्छ ।

हाम्रो समाजमा शल्य चिकित्सासँग सधैँ डर र भय जोडिएको छ, पछिल्लो समयका केही घटनाहरूले झन नकारात्मकता थपेको अवस्था पनि छ, डर र भय किन होला, यसको कसरी न्यूनीकरण गर्न सकिन्छ ?

– बाहिर आएका केही घटनाहरू अपवाद मात्रै हुन् । एक्सिडेन्ट नहुने भन्ने केही पनि हुँदैन । हामी मेडिकल भाषामा स्विचस्विच मोडल भन्ने हुन्छ । त्यसमा मल्टी लेयर सिस्टम जरुरी छ । हामी यो अभ्यास गर्दै पनि आएका छौं । कुनै ठाउँमा नभएको अवस्थामा यो गर्न जरुरी पनि छ । बाहिर आएका टुछपुट घटनाहरुको सत्य हो वा होइन भन्ने पनि थाहा हुँदैन ।

सबै पेपरमै आउने गर्दछ । त्यहाँ  भएको के थियो भन्ने विषयमा सर्जनका टोलीसँग छलफल गर्नुपर्छ । मल्टी लेयर सिस्टममा एक जनाको गल्तीले हुने कुरा पनि होइन । त्यसमा पनि कुन पोइन्टमा समस्या भएर यस्तो भएको बुझ्नुपर्छ । जस्तैः बिरामीले दाहिने हातको अपरेसन गर्नुपर्ने हो तर बिरामी ओपिडी आएदेखि नै बायाँ हातको डकुमेन्ट बनिरहेको छ कि ? त्यो पनि हुनसक्छ । इरर सधैँ डाक्टरमै हुन्छ भन्ने हुँदैन । समस्या धेरै ठाउँमा हुने भएका कारणले समस्या भएका क्षेत्रहरू पहिचान गरेर त्यो ठाउँलाई सच्याउन जरुरी हुन्छ ।

शल्य चिकित्साप्रति आम नागरिक हुने डर र भय नियन्त्रणका लागि क–कसले के गर्नुपर्छ ?

– यसका लागि काउन्सिलिङ धेरै ठुलो कुरा हो । हामीले अपरेसनका जोखिम र त्यसका फाइदाहरूका बारेमा बिरामीलाई जानकारी दिन सक्यौं भने त्यस्तो भयलाई कम गर्न सकिन्छ ।

सामान्यतः अपरेसनलाई कसरी बुझ्ने ?

– हामी अपरेसनलाई एउटा हाँगा बनाएर हेर्ने हो भने एउटा इमरजेन्सी अपरेसन हुन्छ । र एउटा इलेक्टिभ हुन्छ । जस्तै हामी दुर्घटनामा पर्यौं, रगत बगिरहेको छ अथवा आन्द्रा फुटेको छ भने यस्ता केसहरूलाई इमरजेन्सी रूपमा हेरिन्छ । यो भनेको तुरुन्तै अपरेसन नगर्दाखेरिमा ज्यानै जाने हुन्छ । अर्को इलेक्टिभ अपरेसन हुन्छ । त्यसमा ज्यान जाने जोखिम हुँदैन । त्यसमा रोग विशेषको आधारमा आ–आफ्नो जोखिम भए पनि ज्यानै जाने जोखिम हुँदैन । त्यस्तो जोखिम भएको अवस्थामा अपरेसन गरिँदैन । अहिले भइरहेको भन्दा भविष्यमा सुधार गर्नका लागि अपरेसन गरिने हो । त्यही भएर यसमा धेरै डराउनुपर्ने कुरा छैन । इलेक्टिभ अपरेसन गर्दा त्यस्तो धेरै आत्तिनु पर्दैन ।

चिकित्सक र चिकित्सा क्षेत्र मानव जीवन रहेसम्म अन्योन्याश्रित छ, यसलाई व्यवस्थित र गुणस्तरीय बनाउन कसले के गर्नुपर्छ ?

– अहिले विस्तारै अस्पतालहरूको सङ्ख्या बढ्दै गइरहेका छन् । चिकित्सकको सङ्ख्या पनि विस्तारै बढिरहेको छ । जति बढी उपकरण र जनशक्ति भयो जनताले त्यती नै बढी बुझ्न पाउँछन् । त्यसरी व्यवस्थित हुँदै जाला । तर अहिले हामीसँग जति छ यो अपुग नै छ । साधन र स्रोतलाई देशभर हरेक जनताको पहुँचमा पुर्‍याउनका लागि सरकारले पनि सहयाेग गरेको खण्डमा जनचेतना बढ्छ होला ।

शल्य चिकित्सा क्षेत्रमा सरकारका लागि पर्याप्त छ या छैन ?

– सरकारले अझै लगानी बढाउनुपर्छ । सबै ठाउँमा अत्याधुनिक रूपबाट शल्य चिकित्सा सेवा सुरु हुन जरुरी छ । यसका लागि म लगानी बढाउँदै सेवा विस्तारका लागि सरकारसँग आग्रह गर्न चाहन्छु ।

शल्य चिकित्साबारे आम नागरिकलाई तपाईंको सन्देश के छ ?

म आम नागरिकलाई अपरेसन गर्ने कुरामा नडराउनु भन्न चाहन्छु । अपरेसन भनेको हजुरहरूकै फाइदाका लागि गरिने कुराहरू हुन् । हजुरहरूकै सजिलोका लागि गरिने कुरा हो । आफूले दुःख सहेर बस्नुभन्दा अपरेसन गर्नु राम्रो हन्छ । त्यसका लागि चिकित्सकसँग बसेर सल्लाह गर्न पनि अनुरोध गर्न चाहन्छु । चिकित्सकसँग सल्लाह लिएर आफूलाई जे सजिलो हुन्छ त्यही गर्नुहोला ।

डाक्टर, चिकित्सकलगायत सबैलाई एकै नामले चिनिन्छ, यो नाम नमिल्दो र जोखिमपूर्ण पनि मानिन्छ, फरक फरक गरेर कसरी चिनिनुपर्छ, विशेषताको आधारमा किन चिनिनु जरुरी छ  ?

– यसमा चाहीँ चेतनाकै कमी भन्छु म । किनभने २०५० सालसम्म नेपालमा डाक्टरको सङ्ख्या एकदमै सिमित थियो । मेडिकल कलेजहरू सञ्चालन हुन थालेको र चिकित्सक उत्पादन हुन थालेको बल्लबल्ल हो । यस्तो हुन थालेको पाँच÷दस वर्ष भयो । नत्र भने डाक्टरहरू सिमित हुन्छन् । त्यसो हुँदा एउटै डाक्टरले धेरै जनसङ्ख्यालाई कभर गर्नुपर्ने हुन्छ । त्यसकारा आफ्नो सवा क्षेत्र यो हो भनेर भन्ने अवसर उसलाई पनि हुँदैन । यही कारणले गर्दा जनमानसमा डाक्टरले सबै हेर्छ भन्ने परेको हो । तर अहिलेको समाज विशिष्टकृत हुँदै गइरहेको छ । 

पहिले एमबिबिएस डाक्टरलाई देखाउन भीड हुन्थ्यो भने अब अहिले एमबिबिएस मात्र होइन मास्टर्स गरेकै डाक्टरहरू नेपालमा हजारौंको सङ्ख्यामा हुन थालिसके । यो सबै समयको कुरा हो । नेपालमा मेडिकल अभ्यास विस्तारै बढ्दै गइरहेको छ । तपाईंले भनेको चिकित्सकको सेवा विशेषज्ञताको अनुसार चिनिनुपर्छ । तर नेपालमा अहिले विशेष क्षेत्रका चिकित्सकहरूका कारण मुटुका बिरामीले मुटुको डाक्टरसँग जानु र किड्नीको बिरामीले किड्नीको चिकित्ससँग जानुपर्ने कुराको ज्ञान बढ्दै गएको छ । नागरिकमा चेतनाको विकास भएपछि चिकित्सकहरू त्यही अनुसार चिनिन थाल्छन् होला ।