• ३ फागुन २०८१, शनिबार

‘अल्पसङ्ख्यकमाथि बहुसङ्ख्यकले विभेद गर्नु उचित होइन’

blog

काठमाडौँ, फागुन ३ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपाध्यक्ष तथा सर्लाही क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका रामप्रकाश चौधरीले बहुसङ्ख्यकले अल्पसङ्ख्यकमाथि जहाँ पनि विभेद गर्ने प्रवृर्ति रहेको भए पनि त्यस्तो गर्न नहुने बताउनुहुन्छ । बलियोले कमजोरलाई हेप्ने मानवीय विशेषताजस्तो देखिए पनि त्यो गलत भएको उहाँको भनाइ छ । 

नेपालमा मात्र नभई विश्वमा नै यो प्रवृर्त्ति रहेको चर्चा गर्दै सांसद चौधरीले भन्नुभयो, “राज्यबाट मधेश हेपिएको छ, मधेशी समुदायले मधेसमा थारू, मुसहर समुदायलाई हेपेको छ । आफूलाई ठुलो जाति समुदाय भन्नेले कमजोर समुदायलाई हेपेको छ । यो मानवीय प्रवृर्ति जस्तै बनेको छ, तर उचित होइन ।” अहिले समानता र समताको बहस चलिरहेकाले कसैले कसैमाथि विभेद र हेपाइ गर्न नहुने उहाँको बुझाइ छ । 

सबैलाई समान अधिकार, समान प्रतिनिधित्व र समान अवसर दिए मात्र विभेदमुक्त समाज निर्माण हुने भन्दै लोसपा संसदीय दलको प्रमुख सचेतक समेत रहनुभएका चौधरीले भन्नुभयो, “मान्छे असन्तोषी प्राणी हो, जति पाए पनि सन्तुष्ट हुँदैन । तर पनि समाजलाई सन्तुलित बनाउन समानता र समतामा ध्यान दिनैपर्छ ।” 

सांसद चौधरीका अनुसार थारू समुदाय नेपालको मूलवासी र देशको संरक्षक भएको बताउनुभयो । तर मूलवासीको नाताले अधिकार नपाएको उहाँको गुनासो छ । “हामी यो देशको मूलवासी हौं, शासन–प्रशासनमा हाम्रो सहभागिता सुनिश्चित भने छैन, विभेद कायमै छ” चौधरीले भन्नुभयो, “समान अवसरले राष्ट्रिय एकता बनाउँछ । राजनीतिक दलका नेतृत्वले त्यसमा ध्यान दिनुपर्छ ।”


देशमा विकासै भएन भन्ने गलत भाष्य निर्माण गरिएको चर्चा गर्नुहुँदै सांसद चौधरीले भन्नुभयो, “पहिलेको तुलनामा धेरै विकास भएको छ । सबै क्षेत्रमा विकास भएको छ । हाम्रो स्रोतको अवस्थाअनुसार राम्रो विकास भएको मान्नुपर्छ । जनतालाई निराश पार्ने भाष्य निर्माण गर्नुहुन्न ।” अहिले अधिकांश युवाहरु विदेश गएर सीप सिकिरहेको र विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । 

लोसपा उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका चौधरी २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही १ मा भारी मतान्तरले निर्वाचित हुनुभएको थियो । उहाँले २४ हजार ८३८ मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गर्नुभएको थियो । उहाँ ६ हजार ४३४ मतान्तरले विजयी प्राप्त गर्नुभएको थियो ।  

सर्लाहीको विकासका लागि आफू लागिपरेको चर्चा गर्नुहुँदै सांसद चौधरीले जनताको अपेक्षाअनुसार शतप्रतिशत माग पूरा गर्न नसके पनि आफूले इमानदार प्रयास गर्ने उहाँको प्रतिबद्धता छ । ‘किसानले मिहिनेत गरेर तरकारी उत्पादन गर्छन् तर विचौलियाले सस्तोमा किनेर फाइदा खान्छन्’ सांसद चौधरीले भन्नुभयो, “कृषकको उत्पादनलाई सिँधै व्यापारीसँग पहुँच बनाउनेगरी काम गर्नु पर्नेछ । सरकारले त्यसमा ध्यान दिनुपर्छ ।”

प्रस्तुत छ लोसपा संसदीय दलका प्रमुख सचेतक तथा सर्लाही क्षेत्र नं. १ का सांसद रामप्रकाश चौधरीसँग गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी, प्राविधिकतर्फ मनोजरत्न शाहीकेशब गुरुङले गर्नुभएको भिडियो अन्तरवार्ता –

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।