रामकृष्ण बोहरा
बागलुङ, फागुन ३ गते । बागलुङ नगरपालिका –४, ओडारचौरमा निर्माण सम्पन्न देउराली आधारभूत विद्यालयको चार कोठे भवनको उद्घाटन गरिएको छ । पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शुक्रबार विद्यालय भवनको उदघाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै पौडेलले शैक्षिक क्षेत्रहरू भौतिक पूर्वाधारमा अब्बल बन्दै गएकाले अब शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो । शिक्षाको गुणस्तर बढाउन नसके करोडौं खर्चेका भवनको उपलब्धि नहुने उहाँको भनाइ थियो ।
राष्ट्रपति शैक्षिक सुधार परियोजनामार्फत दुई वर्षअघिको ५० लाख बजेटबाट विद्यालय भवन निर्माण गरिएको हो ।
हालै निर्माण सम्पन्न विद्यालय भवन उद्घाटन गरिएको हो । शिक्षामन्त्री हुँदा पौडेलले विद्यालयको भवनका लागि रकम विनियोजन गराउनुभएको थियो । पछिल्लो समय सामुदायिक विद्यालय विद्यार्थी अभावमा खाली भएकाले गुणस्तर बढाउने र बालबालिकालाई सामुदायिक विद्यालयमा टिकाउने वातावरण बनाउन समुदाय र शिक्षकले नै प्रभावकारी भूमिका खेल्न पौडेलले आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालय निर्माणमा भूमिका खेलेका अभिभावक र पूर्व शिक्षकलाई उक्त अवसरमा सम्मान गरिएको थियो । २०५१ सालमा स्थापना भएको विद्यालयको भवन २०७२ को भुकम्पपछि चर्केको र पुरानो भवन भएकाले नयाँ निर्माण गरिएको शिक्षक उमाकान्त शर्माले जानकारी दिनुभयो ।