• ७ फागुन २०८१, बुधबार

अक्सिजन प्लान्ट हुँदाहुँदै सिलिन्डर भर्न धनगढी

blog

बैतडी अस्पताल हाताभित्र रहेको अक्सिजन प्लान्ट । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, फागुन ३ गते । जिल्ला अस्पताल बैतडीमै अक्सिजन सिलिन्डर भर्ने प्लान्ट भए पनि यहाँका स्थानीय तहका स्वास्थ्य संस्था सिलिन्डर भर्न धनगढी पुग्ने गरेका छन् ।

यस्तो हुनुको एउटै कारण हो समन्वयको अभाव । एउटै जिल्लामा तीनथरिका स्वास्थ्य संस्था र अलग अलग बजेट भएपछि समन्वय नहुँदा यस्तो अवस्था सिर्जना भएको हो । सङ्घीय सरकारको डेढ करोड र  प्रदेश सरकारको ८० लाख रुपियाँ बजेट खर्च गरेर २०७८ मा बैतडी अस्पतालको हाताभित्र जडान गरिएको अक्सिजन प्लान्ट अहिले अस्पतालका लागि मात्रै उपयोगमा आएको छ । सो प्लान्टले दैनिक ८० वटा खाली सिलिन्डर भर्न सक्छ ।  

जिल्ला अस्पतालपछि बढी अक्सिजन प्रयोग हुने प्राथमिक स्वास्थ्य केन्द्र पाटन, केसरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली, हाट, शिवनाथलगायतका स्वास्थ्य संस्थाले २५० किलोमिटर टाढा धनगढी गएर अक्सिजन सिलिन्डर भर्ने गरेको पाइएको छ । पाटन नगरपालिकामा मात्रै दैनिक अक्सिजन प्रयोग गर्नेको सङ्ख्या २० जना रहेको स्वास्थ्य संयोजक मदन महराले बताउनुभयो । तथ्याङ्क अनुसार पाटन नगरपालिकाभरि ५० जनाभन्दा बढी दमका बिरामी छन् । यीमध्ये दैनिक १५ जनाले अक्सिजन सिलिन्डर र पाँच जनाले अक्सिजन कन्सटेटर प्रयोग गर्दै आएका छन् । 

नियमित दमका बिरामीलाई स्वास्थ्य संस्थाबाटै निःशुल्क रूपमा अक्सिजन उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । कतिपय अवस्थामा आर्थिक हैसियत राम्रो भएका बिरामीबाट अक्सिजन भर्न न्यून शुल्कसमेत लिने गरिएको उहाँले बताउनुभयो ।  त्यसै गरी केसरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रूपमा १० वटा अक्सिजन सिलिन्डर प्रयोग हुने गरेका छन् । हाट स्वास्थ्य चौकीले १४ वटा अक्सिजन सिलिन्डर प्रयोग गर्दै आएको छ । स्वास्थ्य संस्थाले प्रयोग गर्दै आएका अक्सिजन सिलिन्डर खाली भएर धनगढी जाने गरेको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदबहादुर कुँवरले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बैतडी अस्पतालमा पनि खाली सिलिन्डर भरिन्छ र ? ख्वै ! हामीलाई त थाहा छैन । व्यावसायिक रूपमा भरिन्छ भने त किन धनगढी जान्छौँ ? बैतडी अस्पतालबाटै ल्याउँछौँ नि !” उहाँले स्थानीय तह र जिल्ला अस्पतालबिच समन्वय अभावमा धनगढी जानुपर्ने बाध्यता रहेको बताउनुभयो । धनगढी पुगेर अक्सिजन भर्नु पर्दा ढुवानीसमेत गरेर सानो सिलिन्डरको एक हजार र ठुलोको एक हजार पाँच सय रुपियाँ पर्ने गरेको छ । जबकि सानो जिल्ला अस्पताल बैतडीमै सानो सिलिन्डरको पाँच र ठुलोको एक हजार रुपियाँ मात्रै शुल्क तोकिएको सूचना अधिकारी हरिश पन्तले बताउनुभयो । 

एउटै जिल्लामा तीनथरिको स्वास्थ्य व्यवस्था र बजेट भएपछि जसले जता गए पनि हुने अवस्था रहेको अस्पताल व्यवस्थापन समिति बैतडीका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । उहाँले जिल्ला अस्पताल प्रदेशमातहत, जिल्ला स्वास्थ्य कार्यालय सङ्घमातहत र प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी स्थानीय तहमातहत भएकाले कसैले कसैसित समन्वय नगर्ने प्रवृत्ति बढेको गुनासो  गर्नुभयो । १५ शय्या क्षमताको जिल्ला अस्पताल बैतडीले नयाँ भवनबाट हाल ५० शय्या बराबरको उपचार सेवा दिने गरेको छ । अस्पतालमा जिल्लाभरिबाट वार्षिक ३८ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बैतडी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुशील विकले बताउनुभयो ।