सन्तोष दहित
दाङ, फागुन २ गते । लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजारसम्बन्धी एक दिने तालिम दिइएको छ । नेपाल धितोपत्र बोर्डको आयोजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सहकार्यमा लुम्बिनी प्रदेशका पत्रकारलाई आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजारसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण दिइएको समितिका महासचिव पाण्डव शर्माले जानकारी दिनुभयो ।
प्रदेशको राजधानी भालुवाङमा प्रदेशभरका पत्रकारलाई पुँजीबजारसम्बन्धी रिपोर्टिङ गर्न सजिलो होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । यसैविच पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारलाई आर्थिक विटमा कलम चलाउन यो तालिमले महत्त्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
“पत्रकारले आर्थिक विषयमा कलम चलाउन धेरै प्राविधिक कुराहरू सिक्नुपर्ने छ” अध्यक्ष चौलागाईंले भन्नुभयो, “सरकारले पत्रकारको क्षमता तथा सीप विकासका लागि लगानी गर्नुपर्छ ।” तालिममा पुँजीबजार, धितोपत्र बोर्ड, बजारको जोखिम पहिचान, बित्तीय साक्षरता, पुँजीबजारसम्बन्धि रिपोर्टिङलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमको प्रशिक्षकमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सहायक प्रवन्धक मुराहरी पराजुली, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक अजय ढुंगाना र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रवन्धक सुरज कार्की रहनुभएको थियो । राजधानीमा पुँजीबजारसम्बन्धी विभिन्न तालिम तथा प्रशिक्षणहरू सञ्चालान भए पनि प्रदेशस्तरमा यसप्रकारको कार्यक्रम पहिलो पटक सञ्चालन भएको महासंघका महासचिव शर्माले जानकारी दिनुभयो ।