जानु पाण्डे
कपिलवस्तु, फागुन २ गते । कपिलवस्तुको शिवराज नगरपालिकाका गृहिणीले ट्वाइलेट बाथरुम क्लिनर बनाउने तालिम लिएका छन् । नगरपालिकाको वडा ३ को आर्थिक सहयोगमा सहकारीमा आबद्ध २५ जना महिलालाई ट्वाइलेट क्लिनर, फिनेल र टायल क्लिनर बनाउने तालिम प्रदान गरिएको हो ।
मिलीजुली महिला विकास बचत तथा ऋण सहकारी संस्थाले वडाका विभिन्न टोलका महिलालाई तालिममा सहभागी गराएको थियो । सात दिनसम्म सिकेको सिपले भविष्यमा आय आर्जनमा टेवा पुग्नुको साथै महिलामा आर्थिक रूपमा आत्मनिर्भरताको आधार बन्न सक्ने लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो ।
साना उद्योगमार्फत महिलालाई उत्पादनशील बनाउँदै सशक्तीकरण गर्ने लक्ष्य राख्दै सहकारीमूलक उद्योगको रूपमा दर्ता गरी उत्पादन गर्नुपर्ने शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।
तालिम सकिएपछि सहभागी महिला उत्साहित देखिएका छन् । कतिपयले आफ्नै व्यवसाय सुरु गर्ने योजना सुनाउनुभयो । केहीले सहकारीमार्फत सामूहिक उत्पादन सुरु गर्ने सोच बनाएका छन् । महिलाको उत्पादनलाई बजारीकरण गर्दै उद्यमशीलताको ढोका खोल्न वडा कार्यालयले सीपमूलक तालिम सञ्चालन गरेको शिवराज नगरपालिका वडा ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।