साहारा लिम्बू
फुङलिङ, फागुन २ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । पालिकाभित्र रहेका ७० वर्षभन्दा माथिका आंशिक वा पूर्ण रुपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा दन्त उपहार प्रदान गर्ने भएको हो ।
पालिकाले पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरी, सुनसरीको सहकार्यमा आगामी फागुन ७ गतेदेखि ज्येष्ठ नागरिकको दन्त परीक्षण गरी पूर्ण वा आंशिक रुपमा दाँत लगाइदिने तयारी भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिनुभयो । दक्ष दन्त चिकित्सक (डेन्टिस) मार्फत ज्येष्ठ नागरिकको सेवाका उपलब्ध गराइने भएकाले ढुक्क भएर यो सुविधा लिन वडावासीलाई पालिकाले आग्रह गरेको छ । उहाँका अनुसार प्रत्येक वडाका नागरिकलाई सम्बन्धित वडा कार्यालयमा शिविरको आयोजना गरी सेवा प्रदान गरिनेछ ।
पालिकाका अनुसार फागुन ७ गते पहिलो दिन वडा नम्बर १ कार्यालय निघुरादिन, ८ गते वडा २ कार्यालय फूलबारी र ९ गते वडा ३ कार्यालय हाङपाङका नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने योजना रहेको छ । यस्तै, फागुन १० र ११ गते चाँगेको वडा ४ कार्यालय तथा वडा ५ कार्यालय भवनमा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । प्रत्येक वडाको वडा कार्यालयमा पुगेर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा प्रदान गरिने गाउँपालिकाको भनाइ छ । यस सेवा उपभोग गर्नका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताइएको छ ।