• २८ फागुन २०८१, बुधबार

सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

blog

लखन थापाको स्मृतिमा बुटवलमा आयोजित कार्यक्रममा भएको सहभागिता । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, फागुन २ गते ।
नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । प्रथम सहिद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रथम सहिद थापा मगरलाई सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।

राष्ट्रिय विभूति घोषणा गरेर मगरको योगदानलाई सम्मान व्यक्त गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष दलबहादुर वीरकट्टा मगरले राज्यले प्रथम सहिद मात्रै घोषणा गर्ने तर उहाँको स्मृतिमा राज्यको तर्फबाट कुनै पनि सम्मानजनक कार्यहरु, गतिविधि तथा कार्यक्रमहरु पनि नगर्दा प्रथम सहिदको अपमान भएको बताउनुभयो ।

उहाँले सहिद मगरको शालिक काठमाडौंमा रहेको सहिद गेटमा अनावरण गर्नुपर्ने, मध्यपहाडी लोकमार्गको नाम सहिद लखन थापाको नामबाट नामाकरण गरिनुपर्ने लगायतका संघले राखेका मागहरु राज्यले पूरा गर्नुपर्ने बताउनुभयो ।

यसैगरी, बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले सहिदहरुले देखाएको बाटोमा हिँड्नु नै सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने धारणा व्यक्त गर्नुभयो ।

लखन थापामगर अक्षयकोष २०५६ रुपन्देही र नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज धनी आले, नेपाल मगर शिक्षक संघका केन्द्रीय महासचिव सूर्यविक्रम राना, संघकै लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष जनक थापामगर, संघका तिलोत्तमा नगर अध्यक्ष लीलमाया रानामगर लगायतले बोल्नुभएको थियो । 

कार्यक्रम संघका उपाध्यक्ष टेकबहादुर रेश्मी मगरको स्वागत तथा सचिव राधिका श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।