• ७ फागुन २०८१, बुधबार

विराटनगरमा सोरुम फोडेर कार चोरी

blog

कार चोरी भएको भक्स्वागन कम्पनीको विराटनगर–३ स्थित सोरुमबाट । तस्बिर: नवराज कट्टेल

नवराज कट्टेल
विराटनगर, फागुन २ गते ।
विराटनगरमा सोरुम फोडेर कार चोरी भएको छ । शुक्रबार बिहान सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडेर कार चोरेको थाहा भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

घटना बिहीबार राति भएको हो । भक्स्वागन कम्पनीको विराटनगर–३ स्थित सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको रातो रङ्गको कार चोरी भएको हो ।

घटनामा संलग्नले सोरुमभित्र प्रवेश गरेर कारसँगै त्यहाँ भएको ल्यापटप, धुलो पुछ्ने कपडा, प्लाष्टिकको बाट्टी, चिया कप समेत गाडीमा राखेर लगेको सिसीटिभी फुटेजमा देखिन्छ ।

पूजा इन्टरनेशनल नेपाल प्रा.लि. का एसिस्टेन्ट सेल्स मेनेजर इन्द्रराज श्रेष्ठका अनुसार यो कारको मूल्य ८० लाख २५ हजार पर्दछ । सोरुममा दुईवटा कार  थिए । त्यसमध्ये एउटा कार केहिदिन अघि काठमाडौं लगिएको थियो ।

एउटा कार मात्रै भएको मौका छोपेर बाहिरको फलामको गेट खोलेर सोरुमभित्र प्रवेश गर्ने सीसाको ढोका फुटाएको देखिन्छ । गेट र ढोका खोलिसकेपछि कारको प्लाष्टिक कभर उप्काएर सजिलै लिएर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।

सोरुमबाटै कार चोरिएपछि मोरङ प्रहरीले गम्भीर रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिइएको छ । कार चोरी भएपछि प्रहरी हाइअलर्ट गरिएको छ । सीमाक्षेत्र नजिक रहेका कारण भारततर्फ लैजान सक्ने सम्भावनालाई समेत आकँलन गरेर प्रहरीले निगरानी बढाएको छ । अर्कोतिर सिसीटिभीमा स्पष्टै अनुहार देखिने व्यक्ति भएका कारण प्रहरीले त्यसका आधारमा समेत अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी हेमराज ओलीले जानकारी दिनुभयो ।