• ३ फागुन २०८१, शनिबार

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सचेतना कार्यक्रम

blog

कोहलपुरको एक वडामा वैदेशिक रोजगारसम्बन्धी सचेतना प्रदान गरिँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन २ गते । बाँकेको कोहलपुर नगरपालिकाभित्र विभिन्न टोल र गाउँबस्तीका स्थानीय वासीहरुलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने कार्यलाई अहिले तीव्र पारिएको छ । 

कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत नगरपालिकाका १५ वडाका विभिन्न गाउँबस्तीहरूमा वैदेशिक रोजगारीमा जान चाहने सम्भावित व्यक्तिहरूलाई समुदायस्तरमा पुगेर सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी गराउने काम भइरहेको नगरपालिकाले जनाएको छ । 

रोजगार सेवा केन्द्र कोहलपुरका संयोजक आषिश बर्माले नगरपालिकाका विभिन्न बस्तीमा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी आवश्यक न्यूनतम सूचना तथा जानकारी र वैदेशिक रोजगारसम्बन्धी सेवाहरू प्रदान गर्न सरोकारवालाहरूको सेवा तथा सम्पर्क ठेगानाहरूको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमहरु सञ्चालन भइरहेको बताउनुभयो। 

उहाँले वैदेशिक रोजगारीमा जाने सम्भावित आप्रवासी, श्रमिक वैदेशिक रोजगारीमा रहेका ब्यक्तिका परिवारका सदस्य, वैदेशिक रोजगारबाट फर्किएर आएका व्यक्ति तथा तिनका परिवारसम्म सुरक्षित, लाभदायक तथा सामाजिक लागत न्यून बनाउन उनीहरुलाई आवश्यक वैदेशिक रोजगारीको लागि आधारभूत सूचना तथा जानकारी दिइरहेको बताउनुभयो। 

संयोजक बर्माले थप्नुभयो, "हाम्रो टिमले बस्ती बस्तीमा पुगेर अहिले वैदेशिक रोजगारलाई सुरक्षित बनाउने उपायबारे जानकारी गराइरहेको छ । यसले न्यूनतम जानकारीको कमीको कारणले वैदेशिक रोजगारीको प्रक्रियामा झमेला, दुःख तथा ठगीमा पर्नुपर्ने बाध्यताको अन्त्य गर्ने छ ।"

वैदेशिक रोजगारीको पूर्व तयारी तथा योजनाको अभावले गर्दा वैदेशिक रोजगारीबाट सोचे जस्तो प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्था छ । कम्तीमा न्यूनतम सीप सिकेर विदेश जाने प्रवृत्तिलाई प्रेरित गर्न पनि सचेतना कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्दै आएको कोहलपुर नगरपालिकाका मेयर पुर्ण आचार्यले बताउनुभयो । उहाँले सामी कार्यक्रमका स्वयंसेवकहरूले समुदायस्तरमा पुगेर सुरक्षित वैदेशिक रोजगारका विभिन्न आयामहरूबारे जानकारी गराउने काम गरिरहनुभएको जनाउँदै हालसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३ मा सचेतना कार्यक्रम सम्पन्न भइसकेको बताउनुभयो ।

कोहलपुर नगरपालिकाका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । बढ्दो बेरोजगार समस्याका कारण विशेष गरी ग्रामीण क्षेत्रका युवाहरू विदेश गइरहेका छन् । रोजगारीका सिलसिलामा यसरी विदेश गइरहेका युवाहरू गन्तव्यमा पुगिसकेपछि विभिन्न दुःख र पीडा खेप्दै आइरहेका छन् । 

वैदेशिक रोजगारमा जानेहरले यस्ता दुःख र पीडा खेप्न नपरोस् भन्ने उद्देश्यका साथ सचेतना कार्यक्रमलाई चलाउँदै आएको रोजगार सेवा केन्द्र कोहलपुरले जनाएको छ ।