काठमाडौं, माघ २ गते । ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताउनुभएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीबार साँझ स्वदेश फर्किनुभएका उर्जामन्त्री खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको बतउनुभएको हो ।
‘‘सिँचाइतर्फ हाम्रा ठुला आयोजनाहरु पञ्चेश्वरलाई अगाडि बढाउने छलफल भयो र एक हिसावको सहमति अगाडि बढेको छ । अब चाँडै सम्माननीय प्रधानमन्त्रीहरुको बैठकमा अन्तिम टुङ्गो लाग्ने हिसाबले हाम्रो छलफल भएको छ । कोशीको विषयमा पनि केही छलफल भएका छन् ।,’’ मन्त्री खड्काले भन्नुभयो, ‘‘टनकपुरमा छोड्नुपर्ने अहिलेसम्म सहमति भएको, वर्षअघि नै निर्माण भइसकेको तर पानी नछोडिएको अवस्थालाई चाँडै नै पानी छोड्ने सहमति भएको छ ।’’
उहाँले सिँचाइतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुङ्गो लगाउनेबारे छलफल भएको पनि जानकारी दिनुभयो । उहाँले कोशीको विषयमा पनि केही छलफल भएको बताउनुभयो ।
मन्त्री खड्काका अनुसार दुई देशबिचको सिँचाइ व्यवस्थापनको बैठक हुन नसकेको अवस्थालाई चिर्दै यही २२—२४ फेब्रुवरीमा छलफल गर्ने सहमति भएको छ । दुई देशबिच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०/५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा दुविधा हुने भएको अवस्थालाई दृष्टिगत गरेर नेपालकोतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको उहाँको भनाइ छ ।
‘‘दुई देशबिचमा सिँचाइतर्फ पनि बैठक हुन नसकेको लामो समय भयो । अब आउने २२-२४ तारिकमा नै बैठक हुनेगरीको एक खालको सहमति भएर दुवै देशका मन्त्रीका बिचमा सफलतापूर्वक बैठक सम्पन्न भएको छ । उर्जातर्फ हामी अन्तरदेशीय ट्रान्समिसन लाइनको कामलाई निर्णय गर्नुपर्ने भएको थियो ।,’’ उहाँले भन्नुभयो, ‘‘सचिवस्तरीय निर्णय भइसकेको छ । हामीले २८ हजार पाँच सयको जुन लक्ष्य लिएका थियौँ, विदेशमा बिक्री गर्नुपर्ने १० हजार मेगावाट र भारत, बङ्गलदादेशमा पनि पाँच हजारभन्दा बढी बिक्री गर्नुपर्ने जुन एक खलको हाम्रो योजना छ ।’’
बङ्गलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ । अबका वर्षहरुमा कार्बन शून्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन व्यापारको रकम प्राप्त गर्ने बताउनुभयो ।
‘‘बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको छ । २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन १० वर्षमा गरिसक्न निजी क्षेत्रहरुलाई सँगै साथमा लिएर काम गर्ने भन्ने उद्देश्य छ, त्यसका लागि पनि चाँडै निजी क्षेत्रका साथीहरु भारतमा गएर छलफल गरेर उहाँहरुले आफ्नो तहबाट पहलकदमी राख्नुहुनेछ । पावर समिटमा जाँदै गर्दा पावरका नयाँ नयाँ प्रविधि प्रयोग गरेर कार्बनलाई न्यूनीकरण गर्ने लक्ष्य छ ।,’’ मन्त्री खड्काले भन्नुभयो, ‘‘अबका वर्षहरुमा कार्बन शून्य उत्सर्जनको लक्ष्य लिएका छौँ । मुलुकले कार्बन ट्रेडका लागि पनि कार्बनको तर्फमा पनि रकम प्राप्त गर्न थालेको छ । यसमा बढीभन्दा बढी प्राप्ति हुनेगरी पहलकदमी गर्ने ।’’
मन्त्री खड्काले भारत भ्रमण उपलब्धिमूलक रहेको र दुई देशबिचका सम्बन्ध अझ प्रगाढ भएको बताउनुभयो । उहाँले भारत भ्रमणका क्रममा तीन जना मन्त्रीहरुसँग भेट गरेको र ठुला आयोजना सम्पन्न गर्ने बारेमा छलफल सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले भारतीय उर्जामन्त्री मनोहरलाल खट्टर चाँडै नेपाल आउने जानकारी दिनुभयो ।