जयमान बुढामगर
रुकुमपूर्व, फागुन १ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा रुकुमपूर्वमा भूमे गाउँपालिका पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्षमा गाउँपालिकाले गरेका कार्य सम्पादनको नतिजा सार्वजनिक गरेको हो । आयोगले देशैभरीका स्थानीय तहले गरेका अघिल्लो आर्थिक वर्षका कार्य सम्पादनको मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको छ ।
रुकुमपूर्वमा तीन स्थानीय तह रहेका छन् । जसमा भूमे गाउँपालिकाले ७०.४ अङ्क प्राप्त गरी पहिलो भएको छ । भने जिल्ला सदरमुकाममा रहेको सिस्ने गाउँपालिकाले ६६.४ अङ्क प्राप्त गरी दोस्रो हुँदा पुथाउत्तरगङ्गा गाउँपालिकाले ५७.७ अङ्क प्राप्त गरी तेस्रो स्थानमा आएको छ ।
आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थाी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।