• १ फागुन २०८१, बिहिबार

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

blog

काठमाडौँ,  फागुन १ गते ।  नेपाल विद्युत् प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।

काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पाइप फुटेपछि पानी पूरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको काम सुरु गरेका छौँ । मर्मत सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।” विद्युतका तारहरू भूमिगत गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विशेष अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । रासस