• १ फागुन २०८१, बिहिबार

कार्यसम्पादन मूल्याङ्कनमा परिवर्तन गाउँपालिका उत्कृष्ट

blog

परिवर्तन गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय पुतलाचौर रोल्पा । तस्बिर : पहलमान घर्ती

पहलमान घर्ती
होलेरी (रोल्पा), फागुन १ गते ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कन अनुसार रोल्पाको परिवर्तन गाउँपालिका उत्कृष्ट देखिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये परिवर्तन गाउँपालिकाले ६८ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ भने सुनिलस्मृति गाउँपालकिाले ६६ दशमलव ३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा छ ।

यस्तै, लुङ्ग्री गाउँपालिकाले ६४, रोल्पा नगरपालिकाले ६२ दशमलव ८ प्रतिशत, गंगादेव गाउँपालिकाले ६० दशमलव ४ प्रतिशत, थवाङ गाउँपालिकाले ५९ दशमलव २ प्रतिशत  अङ्क पाएका छन् । त्रिवेणी गाउँपालिकाले ५६ दशमलव ८ प्रतिशत, सुनछहरी गाउँपालिकाले ५६ दशमलव ३ प्रतिशत, माडी गाउँपालिकाले ५२ दशमलव ४ प्रतिशत र रुन्टीगढी गाउँपालिकाले ५० दशमलव ५ प्रतिशत अङ्क पाएका छन् ।

आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्क हुने गर्दछ ।

‘‘सुशासन, समन्वय, पूर्वाधार, न्यायीक कुराहरु पनि हुन्छन् ।,’’ परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जिएमले भन्नुभयो, ‘‘शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुार पनि हुन्छ । नीति, नियम, कानुन बमोजिम काम भएन–भएको, बेरुजुका कुरा छन् त्यसलाई न्यूनीकरण गर्नुपर्छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘शिक्षा र स्वास्थ्यमा उच्चतम हाशिल गर्ने हो, त्यसमा लागनी कती छ । त्यस्ता खालका कुरामा लगानी गर्दाखेरी उच्चम नम्बर आउने हो की भन्ने लाग्छ । किन भने हाम्रो गाउँपालिकाले शिक्षामा अलि धेरै लगानी गरेको छ, स्वास्थ्यमा त्यही अनुसारकै लगानी गरिरहेका छौं । शिक्षा, स्वास्थ्यका अङ्कसँगै, भौतिक पूर्वाधार, लेखाका सुत्र प्रणाली, बेरुजुका न्युकिरण ति सबैले गर्दाखेरी यस्तो अङ्क हासिल गर्न सकिन्छ ।’’