केदार तिमल्सिना
बनेपा, फागुन १ गते । कोरोना सङ्क्रमण सुरु भएपछि सरकारले कोरोनाको परीक्षणलगायतका प्रयोगशाला सुविधासम्पन्न बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेलमा करोडौँ रुपियाँ खर्चेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको थियो । करोडौँका उपकरण खरिद गरेर स्थापना गरिएको प्रयोगशालामा सेवाग्राही नआउँदा मूल्यवान् उपकरण त्यत्तिकै थन्किएका छन् ।
राज्यको करोडौँको सम्पत्ति कसरी प्रयोगविहीन अवस्थामा रहेर बिग्रिने अवस्थामा पुगेका छन् भन्ने प्रमाणका रूपमा प्रयोगशालाका उपकरण बन्न पुगेको छ । बागमती प्रदेशभित्रका जिल्लाबाट आउने कोरोनालगायतका विभिन्न रोगका नमुना परीक्षण गर्ने उद्देश्यले धुलिखेलमा उक्त प्रयोगशाला स्थापना गरिएको थियो । कोरोनाको समयमा कोरोना परीक्षणका लागि व्यस्त रहेको प्रयोगशालामा पछिल्लो समय एउटा उपकरणबाहेक अन्य सबै उपकरण काम नभएर प्रयोगविहीनको अवस्थामा पुगेका हुन् । पछिल्लो समय प्रयोगशालामा रहेको मलिकुलर (पिसिआर जाँच) गर्ने उपकरण मात्रै प्रयोगमा रहेको प्रयोगशालाका निर्देशक डा. नारायणबहादुर कार्कीले बताउनुभयो । “हामीसँग प्रयोगशालाको सेवा दिनका लागि पर्याप्त जनशक्ति, करोडौँका उपकरण छन् तर हामीसँग प्रयोगशालासम्बन्धी सेवा उपलब्ध गराउनका लागि जनशक्ति, उपकरण भए पनि सेवाग्राही नआउँदा उपकरण त्यत्तिकै थन्किएर बसेका छन्,” निर्देशक डा. कार्कीले भन्नुभयो । उहाँले प्रयोगशालाका लागि विद्यालयको भवन उपलब्ध गराइए पनि उक्त स्थान साँघुरो भएका कारण भवन निर्माण गर्न जग्गाको खोजी भए पनि हालसम्म पाउन नसकेको गुनासो गर्नुभयो ।
डा. कार्कीले प्रयोगशालामा रहेका उपकरणमध्ये हाल रगत जाँच गर्ने, बायोकेमेस्ट्री, हर्मोन जाँच, भिटामिन जाँच गर्नेलगायतका उपकरण, केमिकल तथा अन्य सामग्री त्यत्तिकै राख्नु परेको र बिग्रिने अवस्थामा पुगेको बताउनुभयो । “कोभिडको समयमा सबै जिल्लाबाट कोरोना परीक्षणका लागि स्याम्पल आउने गर्दथे, काम गर्न भ्याइनभ्याइ थियो, पछिल्लो समय कुनै जिल्लाका सेवाग्राही यो प्रयोगशालामा जाँच गर्न नआउँदा उपकरण त्यतिकै राख्नुपरेको छ,” डा. कार्कीले थप्नुभयो ।
उहाँले प्रयोगशालाको लागि आवश्यक पर्ने भवन निर्माणको लागि धुलिखेल नगरपालिका, पनौती नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि हालसम्म जग्गा पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले धुलिखेलले उपलब्ध गराएको जग्गा टाढा भएकाले उपयुक्त नभएको र पनौती नगरपालिकाले उपलब्ध गराएको जगा नापी कार्यालयले सार्वजनिक जग्गा भएको जनाएपछि उक्त जग्गा पनि प्राप्त गर्न नसकेको जनाउनुभयो ।
प्रयोगशाला भवन निर्माणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि १० करोड ५५ लाख रुपियाँ बजेटसमेत विनियोजन गरेको बताउनुभयो । निर्देशक डा. कार्कीले जिल्लाको बनेपा, पनौती, पाँचखालले जग्गा उपलब्ध गराएको खण्डमा भवन निर्माण गर्न सकिने बताउनुभयो ।
प्रयोगशाला रहेको भवन परिसरमा ओभर लोड निर्माण सामग्री बोकेका टिप्पर पार्किङ गरेर राख्दा सेवा प्रवाहमा समस्या परेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सेवाग्राही नआएका कारण करिब पाँच/छ करोड रुपियाँ बराबरको उपकरणलगायतको सामाग्री प्रयोगविहिन भई बिग्रने अवस्थामा पुगेको छ । धुलिखेलमा न्यूनतम शुल्कमा प्रयोगशाला सेवा उपलब्ध रहे पनि आमनागरिकमा यो जानकारी नभएका कारण पनि प्रयोगशालामा सेवाग्राहीको सङ्ख्या शून्य भएको हो ।