• १ फागुन २०८१, बिहिबार

हस्तान्तरण नहुँदै विमानस्थलमा प्वाल

blog

प्वाल परेको सिमकोट विमानस्थलको नयाँ एप्रोन । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, फागुन १ गते । सिमकोट विमानस्थलको नयाँ निर्माण गरिएको एप्रोन (ट्याक्सी वे) हस्तान्तरण नहुँदै प्वाल परेको छ । एप्रोनका लागि पुरिएको माटोमा राम्रोसँग रोलर नलाउँदा माटो दबिएपछि कालोपत्रे गरेको एप्रोनको भागमा प्वाल परेको हो । 

हवाईजहाज पार्किङ गर्नका लागि नयाँ निर्माण गरिएको एप्रोन हस्तान्तरण नहुँदै भ्वाङ परेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक महेन्द्रबहादुर सिंहले बताउनुभयो । उहाँले धेरै अग्लो गरी निर्माण गर्न आवश्यक नरहेको एप्रोनमा माटो भर्ने क्रममा कसिलो किसिमले रोलर मेसिन नलाउँदा अहिले एप्रोनमा प्वाल परेको बताउनुभयो । 

विमानस्थलभन्दा ३० मिटरमाथि उठाएर उक्त एप्रोन निर्माण गरिएको छ । नयाँ एप्रोन अग्लो गरी निर्माण गरिँदा विमानस्थलका कर्मचारीलाई जहाजले भुइँ छाड्ने अन्तिम क्षेत्र देख्न सकिने अवस्थासमेत छैन । एप्रोनको दक्षिणी किनारमा तीन मिटर लम्बाइ र दुई फिट गहिरो एप्रोनको भाग भासिएको छ ।

सिमकोट विमानस्थल संरचना निर्माण आयोजनाका प्रमुख विद्यानन्द किशोरले वर्षामा पानी कालोपत्रेमा चुहिएका कारण भासिएको बताउनुभयो । निर्माण कम्पनीको लापर्बाही र कमसल कालोपत्रेका कारण एप्रोनको भाग सञ्चालनमा नआई र निर्माण कम्पनीले हस्तान्तरण नगर्दै प्वाल परेको आयोजनाले स्वीकार गरेको छ । कमसल कालोपत्रेका कारण बर्खामा पानी चुहिएपछि माटो बगाएर लग्दा एप्रोन भासिएको बताउँदै उहाँले सो भागमा नयाँ किसिमले निर्माण गर्न निर्माण कम्पनीलाई पत्राचार गरेको जानकारी दिनुभयो । अब भासिएको भाग मात्र नभएर नयाँ निर्माण गरिएको एप्रोनको दक्षिणतर्फको सम्पूर्ण भाग पुनर्निर्माण गर्नुपर्ने छ । 

उक्त योजना क्याराभान गाल्भा जेभीले निर्माण गरेको हो । २०७४ सालमा एप्रोन निर्माणका लागि आयोजनासँग सम्झौता गरेको थियो । तोकिएको समयमा निर्माण कार्य पूरा नभएपछि पटक पटक म्याद थपिएको थियो । नागरिक उड्डयन प्राधिकरणले १७ करोड रुपियाँको लागतमा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । निर्माण कम्पनी पक्षले दुई करोड रुपियाँ भुक्तानी लिन बाँकी रहेका कारण प्राधिकरणलाई भासिएको भागको काम गर्न समस्या नहुने उहाँले बताउनुभयो । एप्रोनको अन्य भागको कालोपत्रे पनि उप्केर जान थालिसकेको छ ।