गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १ गते । चीन सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिलाई विज्ञान तथा प्रविधिसँग सम्बन्धित सामग्री उपलब्ध गराएको छ ।
समितिको कीर्तिपुरस्थित सङ्ग्रहालयमा अवलोकनका लागि राखिएका ती मोबाइल सामग्री बुधबार हस्तान्तरण गरिएको छ । चीनको विज्ञान तथा प्रविधि सङ्ग्रहालयले ती सामग्री उपलब्ध गराएको हो । सामग्रीहरू तीन वर्षका लागि उपलब्ध गराइएको हो । तीन वर्षपछि भने चिनियाँ विज्ञान तथा प्रविधि सङ्ग्रहालयले नै फिर्ता लैजाने समझदारी भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिनियाँ सरकारले विज्ञान र प्रविधिको साथै ऊर्जा, जलस्रोतलगायतका क्षेत्रमा पनि सहयोग पुर्याएको बताउनुभयो । चिनियाँ सरकारले उपलब्ध गराएको सामग्रीको सही सदुपयोग गर्ने व्यवस्था मिलाउन मन्त्री भट्टराईले विकास समितिलाई निर्देशन दिनुभयो ।