राममणि दाहाल
हेटौँडा, माघ ३० गते । हेटौँडा उपमहानगरपालिका ९ मा अटोमा चित्तल ठोक्किँदा अटो चालकसहित पाँच जना घाइते भएका छन् । हेटौँडा ९ स्थित रसल बोर्डिङ स्कुल नजिकै बुधबार पदमपोखरीबाट गुम्बा चोकतर्फ आउँदै गरेको ना २ ह २३६८ न . को. अटोमा जङ्गलबाट आएको चित्तल ठोक्किएर अटो पल्टिन गई अटो चालकसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार अटो दुर्घटना हुँदा अटो चालक हेटौँडा १२ बस्ने वर्ष ४२ को नरबहादुर तामाङको दाहिने खट्टा र दाहिने हातमा चोट लागेको छ ।
यस्तै अटो दुर्घटनामा परी अटोमा सवार हेटौँडा १२ बस्ने वर्ष ३० कि बिन्दा स्याङतान, वर्ष २९ की रिता स्याङतान, वर्ष ९ को रिदिक स्याङतान र वर्ष १४ की फरायरी बल घाइते हुनुभएको छ ।
चित्तल जङ्गलतर्फ नै भागेको प्रहरीले जनाएको छ ।