चन्द्र पन्दाक
ताप्लेजुङ, माघ ३० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायको सशक्तीकरणका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरेको छ । दलितको हक, अधिकार सुनिश्चित गर्दै संरक्षण र सशक्तीकरणमा सहयोग पुर्याउन गाउँपालिकाले कोष स्थापना गर्नेगरी तयारी गरेको हो ।
दलित समुदायलाई आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा पहुँच बढाउन र उनीहरूलाई समाजको मूल प्रवाहमा ल्याउनेगरी कोषको अवधारणा ल्याएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि नै बनाएर गाउँपालिकाले दलित सशक्तीकरणका लागि कोष स्थापना गर्न लागेको हो ।
चालु आर्थिक वर्षदेखि नै कोष स्थापना कार्यक्रम कार्यान्वयनमा लैजाने गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो । उहाँका अनुसार चालु आवमा उक्त कार्यक्रमका लागि गाउँपालिकाले १० लाख रुपियाँ रकम विनियोजन गरेको छ । गाउँपालिकामा बसोवास गर्दै आएका दलित समुदायका अगुवाहरूको सहभागितामा सो समुदायभित्र रहेको समस्याको पहिचान गरी समाधान र सशक्तीकरणका कार्यक्रम बनाउने गाउँपालिकाको योजना छ ।
यता कोषमा कार्यपालिकाले तोके बमोजिमको रकम वार्षिक रूपमा नघटाई जम्मा गर्नेगरी प्रवन्ध मिलाइएको छ । उक्त कोषबाट दलित लक्षित सीप तथा चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, जेहेन्दार दलित विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने उद्देश्य राखिएको छ ।
त्यस्तै दलित समुदायका निराक्षर व्यक्तिलाई साक्षर बनाउन अभियान सञ्चालन गर्ने, परम्परागत सीप तथा संस्कृतिको जगेर्ना र सो समुदायलाई आर्थिक रूपमा जीवस्तर उकास्ने सहितका कार्यक्रम कोषमार्फत सञ्चालन गरिने छ ।
कोष सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष संयोजक, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विभाग तथा फाँटका प्रतिनिधि सदस्य रहनेगरी समिति बनाउने पनि कार्यविधिमा व्यवस्था गरिएको छ । कोषलाई प्रभावकारी सञ्चालन र कार्यान्वयनका लागि लागि वडा–वडामा दलित समूह गठन गर्ने योजना पनि अघि बढाएको छ । गाउँपालिकाका अनुसार प्रत्येक वडामा गठन भएका समूहको प्रतिनिधित्व हुनेगरी पालिकास्तरीय दलित समन्वय समिति पनि बनाइने छ ।