• ३० माघ २०८१, बुधबार

‘बुद्धले आयुसंस्कार परित्याग गरेको दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाऔं’

blog

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ३० गते । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले  गौतम बुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभन्दा ३ महिनाअघि नै आयुसंस्कार परित्याग घोषणा गरेको दिनलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गर्नुभएको छ ।  

श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः बसन्तपुरले आज आयोजना गरेको ‘भगवान बुद्धको आयुसंस्कार परित्याग दिवस’को अवसरमा बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै यस्तो माग गर्नुभएको हो । ‘माघपूर्णिमा (सिल्लापुन्हि) भगवान गौतमबुद्धले आफूले निर्वाण प्राप्त (मृत्यु घोषणा) गर्नुभएको दिन हो’ उपप्रमुख डङ्गोलले भन्नुभयो, ‘गौतम बुद्ध जन्मिएको दिन भनेर बुद्धजयन्ती मनाउँछौँ । उहाँले निर्वाण (मृत्युवरण) प्राप्त गरेको र बुद्धत्व प्राप्त गरेको दिन वैशाख शुक्ल पूर्णिमा पनि धुमधामसँग मनाउने चलन छ । तर, उहाँले अब म ठिक तीन महिनापछि निर्वाण प्राप्त गर्छु भनेर घोषणा गरेको दिन आयुसंस्कार परित्यागको दिनबारे धेरैलाई जानकारी छैन ।’ 

उहाँले त्यो दिनको महत्वलाई दर्शाउन काठमाडौं महानगरपालिका आफ्नो ठाउँबाट सहयोग गर्न तयार रहेको पनि स्मरण गराउनुभयो । ‘बुद्ध धर्म मान्ने विश्वका थुप्रै देशहरुले यो दिनलाई विशेष महत्वका रुपमा लिदैँ आएका छन्’ उहाँले भन्नुभयो, ‘तर, बुद्धको जन्मभूमि नेपालमा हामीले धेरैलाई यो बारे जानकारी दिन सकिरहेका छैनौँ । त्यही कुराको महत्वलाई दर्शाउँदै हामीले खुलारुपमा मनाउने थालनी गरेका छौँ ।’ उहाँले माघपूर्णिमा (सिल्लापुन्हि) का दिन हरेक वर्ष भगवान बुद्धको दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्नेमा जोड दिनुभयो ।

गौतमबुद्धले २९ वर्षको उमेरमा गृहत्याग गर्नुभएको थियो । ३५ वर्षको उमेरमा वैशाख पूर्णिमाको रातमा सम्बोधि लाभ (बाेधिज्ञान) गर्नुभएको थियो । आज भन्दा २५०० वर्ष अघि वैशाख पूर्णिमाका दिन लुम्बिनीमा जन्मिनुभएका बुद्धले ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन सहज महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो ।