सुजल श्रेष्ठ
प्युठान, माघ ३० गते । ऐरावती गाउँपालिका –३ थारदमार प्युठानकी सुस्मिता थापालाई ब्लड क्यान्सर छ । १३ वर्षीया थापाको अहिले कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचार भइरहेको छ । क्यान्सरका बिरामीका लागि सङ्घीय सरकारले एक लाख रुपियाँ उपचार खर्च दिने जानकारी पाएपछि बुवा लोकबहादुर थापा ऐरावती गाउँपालिकामा सिफारिसका लागि पुग्नुभयो ।
क्यान्सरका बिरामीलाई प्रदेश सरकारले थप दुई लाख रुपियाँ दिने थाहा पाएपछि पालिकाको सिफारिससहित स्वास्थ्य कार्यालय प्युठानमा पुगेर उपचार सहयोगका लागि सिफारिस गराउनुभयो । अहिले सुस्मिताको उपचार भइरहेको छ ।
गौमुखी गाउँपालिका –६ लिवाङका कृष्ण बोहोरा दुवै मिर्गौला फेल भएर अहिले काठमाडौंमा उपचार गराइरहनुभएको छ । उपचाररत बोहोराको मिर्गौला प्रत्योरापण गर्न गाउँमा सहयोग अभियान चलाइएको छ ।
लुम्बिनी प्रदेश सरकारले उपचारका लागि आर्थिक सहयोग गर्नेबारे जानकारी पाएपछि प्रदेश सरकारको आर्थिक सहयोग पाउन सो प्रक्रिया अघि बढाएको आफन्त पदम केसीले बताउनुभयो । जटिल किसिमका दीर्घरोगी (क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको भल्व फेर्ने) विरामीलाई लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने भएपछि यसबाट बिरामीलाई उपचारका लागि सहयोग भइरहेको छ ।
स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख मधुसूदन खड्काले लुम्बिनी प्रदेश सरकारले जटिल प्रकारका दीर्घरोगीलाई उपचारमा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्कअनुसार २०७९–८० मा ४० जना, २०८०–८१ मा ७४ जना र चालु आर्थिक वर्षमा १५ जनाले सिफारिस भएको देखिएको छ ।
लुम्बिनी प्रदेश सरकारले क्यान्सरका बिरामीलाई अस्पतालमै लाग्ने खर्च अस्पताललाई भुक्तानी गर्छ भने मुटुको भल्व फेर्ने र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीले काम सम्पन्न भएपछि भुक्तानीका लागि दावी पेश गर्न सक्छन् । सबै प्रक्रिया पूरा भएपछि विरामीको खातामा नै पैसा जानेगर्छ । क्यान्सरका बिरामीलाई देशभरका १३ वटा अस्पतालबाट क्यान्सरका बिरामीले सेवा सुविधा पाउनेगरी लुम्बिनी प्रदेश सरकारले व्यवस्था मिलाएको छ ।
बिरामीलाई सहज
१२ वटै जिल्लाका स्वास्थ्य कार्यालयमा पुगेर सेवा सुविधाका लागि विवरण पेश गर्न सकिने व्यवस्था भएपछि पछिल्लो समय बिरामी र आफन्तलाई सजिलो भएको छ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संसोधन २०८१) लाई पारित गरेपछि २०८१ कात्तिक अन्तिमदेखि स्वास्थ्य कार्यालयलाई बिरामीको विवरण सङ्कलन गरेर स्वास्थ्य निर्देशनालयमा अनलाइनमार्फत पेश गर्ने जिम्मा दिइएको छ ।
“पहिले स्वास्थ्य निर्देशनालयमा पुगेर सिफारिस गराउनुपर्ने अवस्था थियो” खड्काले भन्नुभयो, “सबै कागजात हेरेर विवरण पेश गर्ने गर्छौं ।” स्वास्थ्य कार्यालय प्युठानका निमित्त प्रमुख खड्काले स्थानीय तहको सिफारिसमा आवश्यक कागजातसहित स्वास्थ्य कार्यालय जान सकिने बताउनुभयो । यसले बिरामीलाई धेरै सहज भएको उहाँको भनाइ छ ।
“सबै कागजात भएमा एक घण्टाभित्र काम सकिन्छ” निमित्त प्रमुख खड्काले भन्नुभयो, “जसले गर्दा सेवाग्राहीलाई सजिलो भएको छ ।” पहिले प्रदेश निर्देशनालय दाङको भालुवाङ जानुपर्ने विरामीका आफन्तले सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय पुगेर विवरण पेश गर्ने व्यवस्थाले सहज भएको कार्यालय प्रमुख खड्काको भनाइ छ । मुटुको भल्व फेर्ने विरामी र मिर्गौला प्रत्यारोपण गर्ने विरामीको पैसा खातामा पठाउन ढिला हुने गरेको सेवाग्राहीको गुनासो छ ।
पाँच हजारभन्दा बढी लाभान्वित
प्रदेश सरकारको आर्थिक सहायताबाट हालसम्म लुम्बिनी प्रदेशभरी पाँच हजार ९५१ जना विरामी लाभान्वित भएका छन् । स्वास्थ्य निर्देशनालय भालुवाङ दाङका अनुसार सबैभन्दा बढी पाँच हजार ७८३ जनाले यो सुविधा पाएका छन् । मिर्गौला प्रत्यारोपणका लागि एकसय २६ जनाले सुविधा लिएका छन् । मुटुको भल्व फेरेका ४२ जना कार्यक्रमबाट आर्थिक सहयोग प्राप्त गरेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको भनाइ छ ।
कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८–७९ देखि हालसम्म क्यान्सरका बिरामी, मुटुको भल्व फेर्ने बिरामी र मिर्गौला प्रत्योरापणका बिरामीलाई प्रदेश सरकारले ३१ करोड १६ लाख ११ हजार ३३९ रुपियाँ खर्च गरेको छ ।
आर्थिक वर्ष २०७८–७९ मा ३२४ जनालाई १२ करोड ४१ लाख ८ हजार ७६ रुपियाँ, आर्थिक वर्ष २०७९–८० मा एक हजार २७८ जनालाई नौ करोड ५६ लाख १५ हजार ३१ रुपियाँ, आर्थिक वर्ष २०८०–८१ मा दुई हजार ८१२ जनालाई १३ करोड रुपियाँ र चालु आर्थिक वर्ष २०८१–८२ मा एक हजार ६३६ जनालाई सात करोड ३५ लाख ७८ हजार १३० रुपियाँ खर्च भएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी मानबहादुर वलीले जानकारी दिनुभयो ।