• ३० माघ २०८१, बुधबार

आठ हजार बढी विद्यार्थीहरुको मुटु जाँच

blog

विद्यार्थीका मुटु जाँच गर्दै विशेषज्ञ डाक्टर सुमन्त वन्जाडे । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, माघ ३० गते । गुल्मीमा आठ हजार बढी विद्यार्थीहरुको मुटु जाँच गरिएको छ । रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग र नेपाल ह्दय रोग प्रतिष्ठान गुल्मीको आयोजनामा तीन वर्षदेखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरुको मुटु जाँच गरिएको हो ।

नगरभित्रका सामुदायिक र संस्थागत गरी उक्त उमेर समूहका आठ हजार बढी विद्यार्थीहरु रहेको र उनीहरुको मुटु जाँच गर्ने कार्यलाई प्राथमिकता दिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । नगरले स्वास्थ्यलाई पहिलो प्राथामिकता दिएर काम गरेको बताउँदै यस्तै कार्यहरुलाई निरन्तरता दिँदै जाने उहाँको भनाइ छ । 

विशेषगरी उक्त उमेर समूहका विद्यार्थीहरुमा यस प्रकारको रोग देखा पर्ने मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त वन्जाडेले जानकारी दिनुभयो । यस उमेर समूहका विद्यार्थीहरु फोहोरमा खेल्ने र सोही प्रकारको खानाले घाँटीमा समस्या हुँदै मुटुमासमेत असर पर्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। 

कोही व्यक्तिहरुमा जन्मजात नै उक्त रोग देखा पर्ने गरेको उहाँले बताउनुभयो । गर्भाअवस्थामा आमाले जान वा अन्जानमा कडा खालका औषधिहरु सेवन गर्ने, धुम्रपान तथा मध्यपान गर्ने, उक्त समयमा बढी तनाव हुने गर्नाले पनि बच्चाको मुटुको भल्भमा प्वाल पर्ने समस्या देखा पर्ने गरेको उहाँले बताउनुभयो । 

१६ वर्षदेखि माथिको उमेर समूहमा खानपानमा ध्यान नदिनुले उक्त समस्या देखा पर्ने गरेको उहाँको भनाइ छ । रोग लाग्नुभन्दा पनि रोगबाट बच्नका लागि स्वंयम आफै जिम्मेवार हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।

महेन्द्र माध्यमिक विद्यालयबाट सुरुवात गरिएको मुटु जाँच कार्यक्रम नगरका सबै विद्यालयहरुमा पुगेर मुटु जाँच गर्ने आयोजकले जनाएको छ । यस अभियानमा गुल्मी मोडल अस्पताल लगायत अन्य संघ संस्थाहरुको पनि सहभागिता रहने छ ।