राजु लामिछाने
रुकुमपश्चिम, माघ ३० गते । नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमको सभापतिमा बलवीर पुन निर्वाचित हुनुभएको छ । मङ्गलबार राति सम्पन्न मतदानपछि सार्वजनिक परिणामअनुसार पुन नेतृत्वको प्यानल विजयी भएको हो ।
निर्वाचन अधिकारी लीलाराम सुवेदीका अनुसार पुनले प्रतिस्पर्धी टेकबहादुर खड्कालाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभयो । खसेको ६५ मतमध्ये पुनले ३९ मत पाउँदा खड्काले २६ मत प्राप्त गर्नुभएको छ । पुन यसअघि रेडक्रस रुकुमपश्चिमको मन्त्री हुनुहुन्थ्यो ।
उपसभापतिमा पुन प्यानलकै दीपा डाँगी खड्का र गोपाल लामिछाने निर्वाचित हुनुभएको छ । खुला उपसभापतिमा लामिछानेले ३६ मत पाउँदा उहाँका प्रतिस्पर्धी तेजबहादुर बटालाले २७ मत पाउनुभएको छ । महिला उपसभापतिमा डाँगीले ३८ मत पाउँदा उहाँका प्रतिस्पर्धी हीरा शर्माले २६ मत पाउनुभएको छ ।
मन्त्री पदमा ४० मतका साथ यज्ञबहादुर केसी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गोकर्ण खड्काले २५ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा ३९ मतका साथ लक्ष्मण खड्का निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मेवालाल ओलीले २१ मत प्राप्त गर्नुभएको छ ।
उपमन्त्रीमा भूपेन्द्रकुमार ओली निर्वाचित हुनुभएको छ । उहाँले ३८ मत पाउँदा उहाँका प्रतिस्पर्धी जितबहादुर खड्काले २५ मत पाउनुभयो । त्यस्तै, उपकोषाध्यक्षमा मानबहादुर ओली ४० मत ल्याएर निर्वाचित हुँदा तेजबहादुर मल्लले २२ मत ल्याउनुभयो ।
महिला सदस्यमा ५६ मतका साथ नैना खड्का, ५५ मत ल्याएर सुनिता बिष्ट गौतम र ३६ मत ल्याएर हिमा खड्का ओली निर्वाचित हुनुभएको छ । अन्य सदस्यहरुमा ४७ मत ल्याएर शिवराम खत्री, ४३ मतका साथ यदुकुमार आचार्य, ४० मत ल्याएर दीपबहादुर खत्री, ४० मत ल्याएर नन्दलाल खत्री, ४० मत ल्याएर तुल्सीराम बुढा, ३३ मत ल्याएर खड्कबहादुर केसी र ३० मत ल्याएर लीला गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
सहमतिमा नेतृत्व चयन हुन नसक्दा दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिले मङ्गलबार राति नै प्रमाणपत्र प्रदान गरिसकेको छ । सोमबार शाखाका सभापति रमा गौतमको अध्यतामा भएको जिल्ला शाखाको ३१ औं वार्षिक साधारण सभा तथा १७ औं अधिवेशनपछि निर्वाचनको कार्यक्रम भएको थियो ।