• ३० माघ २०८१, बुधबार

शिक्षाविद् डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन

blog

शिक्षाविद डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गरिँदै । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, माघ ३० गते ।
शिक्षाविद् डा. हेमराज पन्तलाई धनगढीमा बुधबार नागरिक अभिनन्दन गरिएको छ । सुदूरपश्चिम प्रदेशको शैक्षिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै धनगढी नगरवासीको तर्फबाट रथारोहणसहित धनगढी उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको हो । उहाँलाई धनगढी उपमहानगरपालिकाका प्रमुख एवम् नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक गोपाल हमालले नागरिक अभिनन्दनपत्र प्रदान गर्नुभयो ।

विक्रम सम्वत २०११ साल डोटीको उच्चकोटमा जन्मनु भएका पन्तले २०३७ सालदेखि धनगढीलाई कर्मथलो बनाउनुभएको छ । ६९ वर्षीय पन्तले आफ्नो जीवनको ४२ वर्ष सुदूरपश्चिमको अग्रणी शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसमा अध्यापन गरेर शिक्षाको ज्योति छर्ने काम गर्नुभयो । त्यसक्रममा उहाँले २२ वर्ष क्याम्पसको प्रमुखको भूमिका निर्वाह गर्नुभयो ।

यसैगरी, उहाँले सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रार भएर पनि शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउनुभयो । उहाँ कैयौं सङ्घसंस्थामासमेत आबद्ध भई शैक्षिक र सामाजिक क्षेत्रको विकासमा अनवरत रूपमा लागि रहनुभएको छ ।

पन्तलाई सरकारले २०६८ सालमा सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रार नियुक्त गरेको थियो । आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर २०७२ सालमा रजिष्ट्रार पद छोड्नु भएका उहाँ दुई वर्ष पुनः कैलाली बहुमुखी क्याम्पसमा अध्यापन गरेर २०७४ बाट सेवानिवृत हुनुहुन्छ ।

जागिरको सिलसिलामा बुबा आयुर्वेदाचार्य खगेन्द्रनाथ पन्त डडेल्धुरामा बसेकाले पन्तको प्रारम्भिक शिक्षा डडेल्धुराबाट सुरु भएको थियो । त्यसपछि आठ कक्षासम्मको पढाई उच्चकोटको सीताराम माविबाट पूरा गरी २०२८ सालमा दरबार हाइस्कुलबाट एसएलसी पास गर्नुभएको थियो । २०३१ मा त्रिचन्द्र कलेजबाट आइकम उत्तीर्ण पन्तले २०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तरको पढाई पूरा गरेर कैलाली बहुमुखी क्याम्पसमा मासिक एक हजार रुपियाँ तलबमा पढाउन सुरु गर्नु भएको थियो ।

क्याम्पसले अरू विषय पढाउने प्राध्यापक पाए पनि लेखा, अर्थशास्त्र पढाउने प्रध्यापक पाउन समस्या भएपछि आफू आएको पन्तले बताउनुभयो । उहाँले आफ्नो व्यक्तित्व विकासमा कैलाली बहुमुखी क्याम्पसको ठुलो देन रहेको चर्चा गर्नुभयो ।