म्याग्दी, माघ ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत जावत गर्ने पदमार्गको मुख्य नाका हो ।
यहाँबाट अन्नपूर्ण, गुर्जा, धौलागिरि, सिस्ने, पुथा, चुरेन हिमाल, सुर्योदय र सुर्यास्तको दृष्य अवलोकन गर्न सकिने धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
विशाल फाँट रहेको रुघाचौरको खर्कमा बर्खा याममा धवलागिरि गाउँपालिकाको मुना, दर, लुलाङ, लमसुङ र खोरीयाका बासिन्दाले गाईभैँसी र भेडाबाख्राको गोठ लैजान्छन् । अन्य समय रुघाचौर सुनसान हुन्छ ।
“परापुर्वकालमा गोठालाहरूले ढोरपाटन–रुघाचौर–गुर्जा आउजाउ गर्न प्रयोग गरेको बाटो पहिचान गरेर गुर्जादेखि रुघाचौरसम्म पदमार्ग पनि बनाएका छौ,” उहाँले भन्नुभयो “ढोरपाटन आउने पर्यटकलाई रुघाचौरको बाटो भएर गुर्जा ल्याउन र गुर्जा आउने पर्यटकलाई ढोरपाटन लैजाने योजनाका लागि पूर्वाधार बनाउन प्रदेश र सङ्घीय सरकारको साथ खोजेका छौ ।”
रुघाचौर क्षेत्र दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को वासस्थान पनि भएको वडाध्यक्ष छन्त्याललेब ताउनुभयो । गुर्जा देखि चार घण्टा पैदलयात्रा गरेपछि रुघाचौर पुगिन्छ । रुघाचौरमा होटल र रेस्टुरेन्ट छैन् । खानेपानीको अभाव छ ।
गुर्जादेखि रुघाचौर गुर्जाघाट हुदै ढोरपाटन घुमेर फर्किएका धवलागिरि गाउँपालिका–७ धारापानीका आस्विन खत्रीले रुघाचौर प्राकृतिक सौन्दर्यको खानी भएको बताउनुभयो । आखै अगाडि देखिने हिमाल, खर्कहरूमा भेटिने वन्यजन्तु, पक्षीहरू अवलोकन गर्न पाउँदा दङ्ग परेको उहाँले बताउनुभयो ।
रुघाचौरमा अस्थायी भएपनि खानेबस्ने सुविधा र पदमार्गमा चिन्ह बनाउनुपर्ने खत्रीले बताउनुभयो । रुघाचौरलाई ‘भर्जिन’ गन्तव्य बनाउन सकिने सम्भावना छ । रुघाचौरलाई ढोरपाटनको सहायक गन्तव्यको रूपमा विकास गर्नुपर्ने वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।
गुर्जाको दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा रु १५ लाख बजेटबाट तीन किलोमिटर छ सय मिटर पदमार्ग निर्माण गरिएको पनि उहाँले बताउनुभयो । यो पदमार्ग भएर गुर्जा र ढोरपाटनको गुर्जाघाट एकै दिनमा पुग्न सकिन्छ । हिमाल अवलोकन, झरना, तालतलैया, लालीगुराँसको जङ्गल, वनपैदावार र वन्यजन्तु यो पदमार्गको आकर्षण हो । रासस