सिराज खान
नेपालगन्ज, माघ ३० गते । बाँकेका तीन पालिकामा १३ पटकसम्म लगातार औषधी खुवाउँदा पनि हात्तीपाइले रोगका सङ्क्रमित भेटिएपछि १४ औं पटक औषधी खुवाउने अभियान सुरु गर्न लागिएको छ। ती पालिकामा सबैले औषधी नखाइदिएकै कारणले हात्तीपाइले रोगका सङ्क्रमित भेटिएको हुँदा १४ औ पटक यो अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको हो ।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा फागुन पाँच तथा डुडुवा र नरैनापुरमा फागुन सात गतेदेखि आम औषधी सेवन अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो । हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रमबारे पत्रकारसँग बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा शाहीले केहीले औषधि खाने र केहीले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताउनुभयो । उहाँका अनुसार सो अभियान अन्तर्गत बाँकेमा दुई लाख ५७ हजार बढीलाई औषधि खुवाइँदैछ ।
नेपालगन्जमा एक लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १७४ जना र नरैनापुरमा ४२ हजार ३६९ जना तथा बैजनाथको वडा नम्बर चारमा आठ हजार ९६२ जना गरी जम्मा दुई लाख ५७ हजार ६०१ जनालाई औषधि खुवाउने लक्ष्य छ ।
यस पटक लक्षित सबैलाई औषधी खुवाउने गरी अभियान सञ्चालन गरिने जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले त्यसका लागि वडा अध्यक्षको नेतृत्वमा धार्मिक अगुवा, समाजसेवी, महिला अगुवा, शिक्षक र राजनितिक कार्यकर्ताहरु घरघरमा पुग्ने गरी योजना बनाइरहेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर चारमा १.८ देखि २.५ प्रतिशतसम्म प्रिभेलेन्स (व्यापकता) देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले बताउनुभयो ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागिदिन सबै सरोकारवालालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको हातेमालोमा जोड दिनुभयो ।