• ३० माघ २०८१, बुधबार

पक्की पुल निर्माण अलपत्र

blog

याङ्चु बगरमा पक्की पुल निर्माण हुने स्थान । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, माघ ३० गते । सम्झौता भएको साढे दुई वर्ष बितिसक्दा पनि कर्णाली नदीमाथि दुई वटा पक्की पुलको निर्माण कार्य सुरु हुन सकेको छैन । पूर्वाधार विकास कार्यालयले बहुवर्षीय योजनाका रूपमा चार वर्षे अवधि राखे कै कारण दुई वटा पक्की पुलको हालसम्म निर्माण कार्य हुन नसकेको हो । 

कर्णाली नदी माथि खार्पुनाथ गाउँपालिकाको याङ्चु बगर र लाली बगरमा पक्की पुल निर्माण गर्न पूर्वाधार विकास कार्यालय निर्माण कम्पनीसँग साढे दुई वर्ष अगाडी सम्झौता गरेको भए पनि हालसम्म निर्माण कार्य अगाडि नबढेको कार्यालय प्रमुख नरेशराज जैसीले बताउनुभयो । पुल निर्माणका लागि पटक पटक निर्माण कम्पनीलाई ताकेता गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको उहाँले बताउनुभयो । 

पुल निर्माणका लागि सम्झौता पत्रमा चार वर्षे अवधि राखेको कारण पुल निर्माण नहुनुको मुख्य कारण रहेको बताउँदै उहाँले निर्माणका लागि ताकेता भने गरि रहने बताउनुभयो । ती दुवै पुल निर्माणका लागि २०७९ साल जेठ २७ गते सम्झौता भएर २०८४ साल जेठ ११ गते सम्पन्न गर्ने मिति राखिएको छ । पुल निर्माणका लागि यति लामो अवधि राख्न नहुनेमा कार्यालयको यहीनेर कमजोरी रहेको उहाँले स्वीकार गर्नुभयो । 

यसका लागि कार्यालयले सुर्या एजएम शृया जेभीसँग सम्झौता गरेको छ । जसमा याङ्चु बगरको पक्की पुल निर्माणका लागि १७ करोड लागत लाग्ने गरि बजेटको व्यवस्था गरिएको छ भने लालि बगरका लागि चौध करोड लागत लाग्ने गरी सम्झौता गरिएको छ । यी दुवै पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ साल मङ्सिर ८ गते बहुवर्षीय योजनाका रूपमा स्वीकृत दिदै बजेटको सुनिश्चितता गरेको थियो । 

यसअघि सडक सञ्जान नजोडिएको कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएको भने पन्छिने निर्माण कम्पनीलाई गत असारमा कर्णाली काेरिडोर खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म जोडिएपछि अब कुनै बहानाबाजी गर्ने छुट नभएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । राज्यभन्दा निर्माण व्यवसायी ठुलो देखिए कै कारण खार्पुनाथ गाउँपालिका–२,३ र ४ का वस्तीहरू सडक सञ्जालसँग जोडिन नपाएको उहाँले बताउनुभयो । 

याङ्चु बगरमा पुल निर्माण नभएकै कारण वडा नम्बर ४ को तुम्लिङदेखि नल्नसम्म सडक निर्माण भए पनि यातायातका साधन सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो । अर्को कुरा लाली बगरमा पक्की पुल नबन्दा हाल सो क्षेत्रको कर्णाली नदीमा तुईन निर्माण गरेर थाली र लाली गाउँका स्थानीय जोखिम उठाएर नदी वारपार गरिरहनु भएको छ ।