• ३० माघ २०८१, बुधबार

नागरिकको पहुँच पुग्नेगरी काम गर्न मन्त्री राणाको निर्देशन

blog

परराष्ट्रमन्त्री आरजु राणा देउवा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु तथा सचिवहरुसँग छलफल गर्नुहुँदै ।

भावना जोशी

अत्तरिया, माघ २९ गते । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रदेश सरकारले दिने हरेक अनुदानमा सर्वसाधारणको पहुँच पुग्नेगरी काम गर्न सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, मुख्यसचिव, सचिव लगायतलाई निर्देशन दिनुभएको छ । 

प्रदेशमा उधोग दर्ता गर्दा काठमाडौं पुग्नुपर्ने समस्याको समाधान गर्नेगरी नीति बनाएर भए पनि काम गर्न सुझाव दिनुभयो । उहाँले नीजिक्षेत्र, महिला वालवालिकाको लागि  काम गर्ने हो भने प्रदेश तहमै उहाँहरुलाई प्रोत्साहन गर्नेगरी काम गर्ने र जनताका कुनै पनि कामका फाईलहरु नरोक्न निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, “गएको प्रदेश सरकारको ठुलो बजेटविना मूर्तिको मन्दिर निर्माण लगायतमा खर्च भएको छ, बाटोघाटोमा हरेक दुई मिटरमा मन्दिर छ, तर मान्छे छैन, मूर्ति छैन, घण्टी छैन, पूजाआजा पनि छैन । त्यस्तो ठाउँमा मन्दिर बनाएर रकमको  दुरुपयोग गर्नुभन्दा त्यस्को बदलामा बर्थिङ सेन्टर बृद्धबृद्धाका लागि बस्ने रमाउने ठाउँ, शौचालय बनाउँदा रकमको सही सदुपयोग हुन्छ ।”  

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेश सरकार, स्थानीय सरकार, नीजि क्षेत्र, संघ सरकार सबैलाई जोडेर लैजान र सबै क्षेत्रको  सुचकाङ्कको आधारमा काम अघि बढाउन  निर्देशन दिनुभयो । 

कर्णाली हामीभन्दा बिकट हुँदा पनि स्रोत साधनको राम्रो परिचालनले अघि बढेको बताउँदै प्रदेश सरकारका मन्त्रीहरुलाई सही सुझाव र सल्लाह दिन कार्यक्रममा सहभागी मन्त्रालयका सचिवलाई आग्रह गर्नुभयो ।  


उहाँले बृद्धबृद्धा एक्लै घरमा हुने भएकाले उहाँहरुलाई हप्तामा भेटघाट गर्ने, पिकनिक लैजाने, खाना खुवाउने, घरमै परिवारसँग राख्ने वातावरण  बनाउने, हरेक हप्ता उहाँहरुसँग मनोरञ्जनात्मक कार्यक्रम बनाउने,  भेटघाट गर्नेजस्ता  बालबालिका, र महिला केन्द्रीत कार्यक्रम गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्मन्त्री कमलबहादुर शाह, आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, सामाजिक विकासमन्त्री मेघराज खडका, सामाजिक  विकास राज्यमन्त्री सरस्वती खडका, अर्थ राज्यमन्त्री प्रकाशबहादुर वम, भौतिक पूर्वाधार विकास राज्यमन्त्री मिना साउँद, प्रदेशका मुख्यसचिव, प्रदेशका मन्त्रालयका सचिव लगायतको सहभागिता थियो ।