रामकृष्ण बोहरा
बागलुङ, माघ २९ गते । निर्माण सामग्री उत्खननमा प्रहरीले अवरोध सिर्जना गर्दा बागलुङ नगरपालिकामा निर्माणाधीन तीन सडकको काम प्रभावित भएको छ । विश्व बैंकको सहयोगमा निर्माणाधीन मूलपानीदेखि तितौरेसम्मको साढे ८ किमी, ओडारचौरदेखि ढोडेनीसम्मको साढे २ किमी र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमी सडकका लागि उत्खनन गरेको सामग्रीमा प्रहरीको अवरोधपछि सडकको काम प्रभावित भएको हो ।
नगरपालिकाको अनुमतिपत्र लिएर निर्माण सामग्री उत्खनन र ढुवानी गरिरहेको निर्माण कम्पनी आशिष फेवा संयक्त निर्माण कम्पनीका सामग्री नियन्त्रणमा लिने र चालकलाई पक्राउ गरेर दुःख दिने काम भइरहेको कम्पनीले जनाएको छ । नियम अनुसारको राजस्व तिरेर अनुमतिपत्र लिँदा पनि प्रहरीले दुःख दिएको भन्दै कम्पनीका प्रतिनिधिले काम रोकेका छन् ।
असार मसान्तभित्र सक्नुपर्ने लक्ष्य पूरा गर्न कठिन हुने भएपछि नगरपालिकाले सहजीकरण गरेर काम सुरु गराएको छ । कहिले चालक पक्राउ गर्ने त कहिले एक्साभेटर नियन्त्रणमा लिएर प्रहरीले काम प्रभावित गरेको नगरपालिका इन्जिनियर मनोज शर्माले बताउनुभयो ।
निर्माण सामग्री उत्खनन्को अनुमतिपत्र भए पनि प्रहरीले दुःख दिएको उहाँको भनाइ छ । नगरपालिकले सडक निर्माणको क्रममा ढुङ्गा, गिटी र बालुवा गरी २२ सय घनमिटर सामग्री उत्खनन गर्न पाउने अनुमति कम्पनीलाई दिएको छ । कम्पनीले ८ लाख राजस्व बुझाएर निर्माण सामग्री निकाल्ने अनुमति पाएको थियो ।
बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्र सक्नेगरी तीन सडक निर्माण गरिरहेको छ । सडकको काममा अहिलेसम्म ५० प्रतिशत प्रगति छ । विश्व बैंकले ६० करोड रुपियाँ अनुदान उपलब्ध गराए पनि निर्माण कम्पनीले ४५ करोडमा ठेक्का लिएको थियो । प्रहरीको अवरोधका कारण कम्पनीले बेलाबेला काम रोक्न बाध्य भएको शर्माको गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल चिलवालले अनुमति बिना निर्माण सामग्री उत्खनन र ओसारपसार गरेकोले पक्राउ गरिएको बताउनुभयो । सोधपुछका लागि चालकलाई नियन्त्रणमा लिई छाडिएको चिलवालले बताउनुभयो ।
विश्व बैंकले तोकिएको समयमा काम नसके भुक्तानीमा अप्ठ्यारो पार्ने भएकाले निर्माण कम्पनीले काममा तिब्रता दिएको छ । यसअघि विश्व बैंककै सहयोगमा बागलुङ नगरपालिका –४ देखि ६ सम्मको झण्डै ७ किमी सडक कालोपत्रे भएको छ ।