राजत रावत
हुम्ला, माघ २९ गते । हिमाली जिल्लाको नाम्खा गाउँपालिका र राजधानीको स्तुपा सामुदायिक अस्पतालबिच उपचारमा विशेष छुट लिने सम्झौता भएको छ ।
नाम्खा गाउँपालिकाका बिरामीहरुलाई उपचारमा विशेष छुट दिने व्यवस्थाका लागि गाउँपालिका र अस्पतालबिच सम्झौता भएको हो ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले गाउँपालिकाभित्रका स्थानीय बिरामी भए उपचारमा छुट दिने व्यवस्थाबारे काठमाडौंको चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालसँग सम्झौता भएको जानकारी दिनुभयो ।
सो सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष लामा र अस्पतालको तर्फबाट निर्देशक पेम्बा लामाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता लागू भएसँगै अब नाम्खा गाउँपालिकावासीले सो अस्पतालमा उपचारका लागि जाँदा विशेष छुट पाउनेछन् ।
सम्झौता पत्रमा उल्लेख भए बमोजिम ओपिडीमा उपचार गर्ने बिरामीले २५ प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी बिरामीको इन्भेष्टिगेशन गर्दा पनि २५ प्रतिशत नै छुट पाउने व्यवस्था गरिएको छ । यता सर्जरीलगायत अन्य उपचारमा १५ प्रतिशत छुट र बेड शुल्मा २५ प्रतिशत छुट पाउने व्यवस्था छ । गाउँपालिका र अस्पतालबिच एक एक वर्षका लागि उक्त सम्झौता गरिएको हो ।