• २९ माघ २०८१, मङ्गलबार

भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७ औं स्थानमा

blog

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’ (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) सार्वजनिक ।

काठमाडौं, माघ २९ गते । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’ (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) सार्वजनिक गरेको छ ।

इन्टरनेसनले मङ्गलबार विश्वव्यापी रूपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा साउथ सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा अङ्कित भएको उल्लेख छ ।

यसैगरी, १८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा रहेको छ ।

सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ । विगत पाँच वर्षमा सात वटा मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गरेका छन् । सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरूले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन् ।

सर्वेक्षण गरिएका १८० मुलुकको औसत अङ्क यस वर्ष पनि ४३ नै कायम रहेको छ । कम अङ्क प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरू रहेका छन् ।

विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अङ्क प्राप्त गरेको देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ मा नेपालले १०० मा ३४ अङ्क प्राप्त गरेको छ, जुन गत वर्ष ३५ रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ अङ्क प्राप्त गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले विभिन्न देशको भ्रष्टाचार अवधारणा सूचकाङ्क तयार गर्दा १३ वटासम्म अन्तर्राष्ट्रिय सर्वेक्षणका तथ्याङ्कलाई आधार मान्ने गरेको छ । नेपालको सूचकाङ्क निम्नलिखित ६ वटा संस्थाद्वारा विभिन्न क्षेत्र समेटेर गरिएको सर्वेक्षणको आधारमा तयार गरिएको छ ।