सीता काफ्ले
रुपन्देही, माघ २९ गते । आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्षको ६ महिनामा गत वर्षको भन्दा ७७ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ५४ करोड ३४ लाख १५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ४ अर्ब ७७ करोड ८३ लाख ४५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्षको सोही अवधिमा सङ्कलित राजस्व ४ अर्ब ७७ करोडको तुलनामा १६ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।
साउनदेखि पुस मसान्तसम्ममा ६ अर्ब ३३ करोड ३६ लाख ५२ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको भैरहवाले लक्ष्यको ८७ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिनुभयो । कार्यालयले पौष महिनामा मात्रै १ अर्ब ३ करोड राजस्व सङ्कलन गरेको छ । १ अर्ब २३ करोडको लक्ष्य पाएको कार्यालयले उक्त राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिनामा आयकरतर्फ ७८ करोड १९ लाख, मूल्य अभिवृद्धि करतर्फ ९३ करोड ९३ लाख र अन्तःशुल्कबापत ३ अर्ब ७३ करोड सङ्कलन गरेको छ ।
अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्नु, नियमित बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण र अनुसन्धानको प्रभावकारिता जस्ता कारणले राजस्व सङ्कलनमा वृद्धि देखिएको उहाँको भनाई छ ।
प्रमुख कर अधिकृत पोख्रेलले नक्कली भ्याट बिजक बिक्री गर्ने १३ बटा शङ्कास्पद करदाताको छानबिन भइरहेको जानकारी दिनुभयो । उहाँले शङ्कास्पद कारोबार गर्ने ८९ करदाताको कारोबारको छानबिन तथा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालयले बजेट मार्फत दिएको विशेष छुटको व्यवस्थापछि बाँकी बक्यौता तिर्नेहरूको सङ्ख्यामा पनि वृद्धि भएको कार्यालयको जनाएको छ ।
कार्यालयले आय विवरण बुझाउन बाँकी करदातालाई दिएको विशेष छुटको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाएको छ । कार्यालयले स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा गर्ने जनाएको छ ।
यसै गरी २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने, मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी व्याज मिनाहा गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवा जनाएको छ ।