• २९ माघ २०८१, मङ्गलबार

दुई वटा विद्यालयमा मन्दिर उपहार

blog

महेन्द्र मन्दिर माविमा सरस्वती मन्दिर हस्तान्तरण गर्दै वडाध्यक्ष श्रेष्ठ । तस्बिर : नवीनराज

नवीनराज कुइँकेल

लमजुङ, माघ २९ गते । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ का वडाध्यक्ष नवीनकुमार श्रेष्ठले निजी लगानीमा दुई वटा सरस्वती मन्दिर निर्माण गर्नुभएको छ ।

वडाध्यक्ष श्रेष्ठले कान्ती मन्दिर माध्यमिक विद्यालय पुर्काङ र महेन्द्र मन्दिर माध्यमिक विद्यालय झुल डाँडामा सरस्वती मन्दिर निर्माण गरिदिनुभएको हो । श्रेष्ठले निजी लगानीमा निर्माण गरिदिएको मन्दिर विद्यालयहरुलाई हस्तान्तरण गर्नुभएको छ । मन्दिर हस्तान्तरण गर्दै श्रेष्ठले आफू दुवै विद्यालयको पूर्व विद्यार्थी, दुवै विद्यालयको पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष र वडा अध्यक्ष भएको नाताले विद्यालयमा सरस्वती मन्दिर निर्माण गरिदिएको बताउनुभयो ।

श्रेष्ठले आफूले चालेको सरस्वती मन्दिर निर्माणको अभियानमा सहयोग र साथ दिने विद्यालय, व्यवस्थापन समिति र अभिभावक सङ्घलाई धन्यवाद दिनुभयो । करिब पाँच/पाँच लाख लागतमा मन्दिर निर्माण भएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।