मध्यविन्दु समाचारदाता
मध्यविन्दु, माघ २९ गते । नवलपरासीपूर्व (नवलपुरको) कावासोती–१५, गोडारमा रहेको नवलपुर आदिवासी तथा थारू सङ्ग्रहालय पर्यटकको रोजाइमा पर्ने गरेको छ । यस क्षेत्रका रैथाने थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्रीको सङ्ग्रह गरी सङ्ग्रहालय स्थापना गरिएको हो । पछिल्लो समय प्रयोगमा आउन छाडेका र प्रयोग हुँदै आएका समेत गरेर यहाँ पाँच सयभन्दा बढी सामग्रीको सङ्ग्रह गरिएको छ ।
कावासोती यो जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँ देशकै उत्कृष्ट अमलटारी होमस्टे सञ्चालनमा छ भने चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारीसमेत व्यवस्था रहेकाले पनि स्वदेशी तथा विदेशी पर्यटकको आगमन हुने गर्छ । यहाँ आएका पर्यटकले नवलपुर आदिवासी तथा थारू सङ्ग्र्रहालयको अवलोकन गर्ने गर्छन् । २०६६ सालमा माघीको अवसर पारेर स्वैच्छिक रूपमा चन्दा सङ्कलन गरी स्थापना सुरु गरिएको यस सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ होमस्टे स्थापना भएपछि पर्यटकीय गतिविधिमा वृद्धि हुँदा आदिवासी थारू सङ्ग्रहालयमा समेत टेवा पुगेको छ ।
यस सङ्ग्रहालयमा अवलोकन गर्न विगत छ महिनादेखि प्रवेश शुल्क लिने व्यवस्था गरिएको छ । स्वदेशीका लागि प्रतिव्यक्ति २५ रुपियाँ र विदेशीका लागि प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क तोकिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताउनुभयो । छ महिनादेखि अहिलेसम्म करिब चार हजार जनाले सङ्ग्रहालयको अवलोकन गरेको महतोले जानकारी दिनुभयो । महतोले भन्नुभयो, “पहिले हामीले निःशुल्क रूपमा प्रवेश गर्न दिन्थ्यौँ । छ महिना भयो शुल्क लिन लागेको, यो बिचमा करिब छ हजार जनाले अवलोकन गरेका छन् ।”
अहिले चलनचल्तीमा नभएका सामग्रीको सङ्ग्रह गर्ने र ती सामग्रीलाई जीवन्त राख्ने सँगै पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरेको बताउनुभयो । गाउँमा प्रयोगमा नआएका सामग्रीलाई त्यसै फाल्नभन्दा सङ्ग्रहालयमा उपलब्ध गराउन गाउँका बासिन्दालाई आग्रह गरेर यहाँ राखिएका सामग्री सङ्कलन गरिएका हुन् । सङ्ग्रहालयमा राखिएका केही सामान खरिद गरिएको र केही आफैँ निर्माण गरेर राखिएको महतोले जानकारी दिनुभयो ।
नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले सङ्ग्रहालयले पर्यटकीय गतिविधिमा टेवा पुगेको बताउनुभयो । यहाँ आएका विदेशी पर्यटकलाई सङ्ग्र्रहालय अवलोकन गराउन लैजाने गरेको उहाँ बताउनुहुन्छ । महतोले भन्नुभयो, “हामीकहाँ आएका पाहुनालाई सङ्ग्रहालय देखाउन लैजान्छौँ । यहाँ रहेका होटेल तथा रिसोर्ट र होमस्टे सबैमा आउने पाहुनाले यहाँ घुम्ने ठाउँ के के छन् भनेर सोध्दा हामीले पुग्नैपर्ने स्थान सङ्ग्रहालय बताउँछौँ ।