• २७ चैत २०८१, बुधबार

सबै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम

blog

रजनी योगी

सुर्खेत, माघ २९ गते । कर्णालीका सबै वडामा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लागु भएको छ । यसअघि १५ वटा वडामा कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन । चालु आर्थिक वर्षदेखि प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरेको थियो । त्यसयता प्रदेशका ७१८ वटा वडामध्ये ७०३ वटा वडामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भएको थियो । कार्यक्रमबाट १५ वटा वडा वञ्चित भइरहेका थिए । चालु आवबाट सबै वडामा कार्यक्रम कार्यान्वयन गरिएको प्रदेश सरकारले जनाएको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको सबैभन्दा बढी प्रभावकारी कार्यक्रमका रूपमा उक्त कार्यक्रमलाई लिइएको छ । प्रत्येक वर्षको सरकारको बजेट र कार्यक्रममा समेत प्राथमिकतामा पर्दै आएको छ । यस वर्षदेखि प्रदेशका सबै वडा मुख्यमन्त्री रोजगार कार्यक्रममा जोडिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सवै वडामा कार्यक्रम कार्यान्वयन गरिएको हो । यो कार्यक्रम स्थानीय तहबाट कार्यान्वयन हुन्छ । यस वर्ष सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना बनाएको छ । यस वर्ष एक हजार छ सय व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले राखेको छ । त्यसका लागि एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।

अहिले प्रदेशका सबै वडामा कार्यक्रम कार्यान्वयन भइरहेको मुख्यमन्त्री कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालले बताउनुभयो । उहाँका अनुसार पहिलेभन्दा व्यवस्थित रूपमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । सरकारले तीन जिल्लाका वडामा २० लाखका दरले बजेट पठाउने गरेको छ । हुम्ला, डोल्पा र मुगु जिल्लाका वडामा योजना कार्यान्वयनका लागि २० लाख बजेट पठाइएको ढकालले बताउनुभयो । अन्य जिल्लाका प्रत्येक वडामा १५ लाखका दरले बजेट पठाउने गरिएको छ ।

प्रदेश सरकारले ग्रामीण पूर्वाधार विकासलाई जोड दिएको छ । बेरोजगारीलाई रोजगारी दिने र पूर्वाधार निर्माण गर्ने गरी मुख्यमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहका कुल ७१८ वटा वडामध्ये ६३७ वटा वडा ग्रामीण क्षेत्र रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरणसम्बन्धी तथ्याङ्कले यस्तो अवस्था देखाएको हो । कर्णालीका ७५ वटा सहरी र छ वटा वडा सहरोन्मुख भए पनि ६३७ वटा वडा भने ग्रामीण क्षेत्रमा रहेको देखिएको छ । सरकारले सबै स्थानमा पूर्वाधारयुक्त बनाउने नीति अवलम्बन गरेको छ । गाउँ तथा ठाउँ विशेष योजना निर्माण गरेर कार्यक्रम कार्यान्वयन भइरहेका छन् ।