गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २९ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र ‘लाज शरणम्’ गीतमा स्वर दिनुभएको छ । ‘नेपाल हाँसेको’ बोलको गीतमा मेयर शाहको स्वर, सङ्गीत र शब्द रहेको छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।
गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ । शाह मेयर भएपछि उहाँले गाएको गीत सार्वजनिक भएको यो पहिलो पटक हो । मेयर भएपछि उहाँले हालसम्म कुनै पनि गीत गाउनुभएको थिएन । बालेनको लोकप्रियता जस्तै यो चलचित्रको गीत र चलचित्र पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ । फागुन १४ गते महाशिवरात्रिका दिन प्रदर्शन हुने ‘लाज शरणम्’ ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा...’ बोलको गीत सार्वजनिक गरेको थियो । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ को टिमले बनाएको हो । मुख्य भूमिकामा सीताराम कट्टेल ‘धर्मुस’ रहेको चलचित्रलाई कुमार कट्टेलले निर्देशन गर्नुभएको हो ।