गण्डकी, माघ २९ गते । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ ।
बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयले स्याउखेती विस्तार तथा व्यवसायीकरण आयोजना र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत किसानलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार मुस्ताङ र मनाङलाई मुख्य रूपमा केन्द्रित गरी स्याउखेती विस्तारको आयोजना सञ्चालन गरिएको हो ।
अन्य जिल्लाका उच्च पहाडी भेगका किसानले पनि पछिल्लो समय व्यावसायिक स्याउखेती सुरु गरेका छन् । मन्त्रालयले स्याउखेती र शितोष्ण फलफूल विस्तारमा बर्सेनि ठूलो बजेट खर्च गर्दै आएको छ । किसानलाई स्याउका बिरुवामा उपलब्ध गराउने गरिएको सचिव रेग्मीले बताउनुभयो ।
शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत पाँच सय २७ रोपनी क्षेत्रफलमा ओखर बगैँचा र छ हेक्टर क्षेत्रफलमा खुर्पानी बगैँचा विस्तार गरिएको छ । विस्तार गरिएको स्याउ तथा अन्य फलफूलखेतीबाट वार्षिक करोडौँ रुपैयाँ आम्दानी भइरहेका छ भने छ सय जनाभन्दा बढी रोजगारीमा जोडिएको मन्त्रालयले जनाएको छ ।
स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई वटा चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।
लोमान्थाङ गाउँपालिकाबाहेक मुस्ताङका चारै गाउँपालिमा उच्च घनत्वमा आधारित स्याउखेती विस्तार गरिएको छ । किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाउने गरेका छन् । उच्च घनत्वको आधुनिक प्रविधिको स्याउखेतीतर्फ किसानको आकर्षण बढेपछि मुस्ताङमा मुस्ताङमा स्याउको क्षेत्रफल विस्तार भएको हो । रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने कृषि अधिकृत नेपालीले बताउनुभयो । छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउखेतीतर्फ किसान आकर्षित भएका हुन् । उच्च घनत्वको स्याउखेतीका लागि एउटै बिरुवाको रु एक हजारदेखि रु एक हजार दुई सयसम्म मूल्यपर्ने जनाउँदै केन्द्रका कृषि अधिकृत नेपालीले बताउनुभयो ।
बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ । उक्त प्रविधिको स्याउखेती एक दशकअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको थियो । यो स्याउका बिरुवा इटालीदेखि नेपाल भित्र्याइएको थियो ।
थोरै जग्गामा पनि धेरै बिरुवा लगाउन सकिने तथा छिटो र धैरै फल दिने हुँदा यो स्याउखेती फस्टाउँदै गएको हो । गाला, फुजी, गोल्डेनलगायत जातका स्याउखेती हुँदै आएको छ । एउटा स्याउको बोटले २५ वर्षसम्म उत्पादन दिने कृषि अधिकृत नेपालीले बताउनुभयो ।