• २९ माघ २०८१, मङ्गलबार

भुइँ ऐँसेलुको व्यावसायिक खेती

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, माघ २९ गते । बाँके जिल्लामा पहिलो पटक भुइँ ऐँसेलु (स्ट्रबेरी) व्यावसायिक खेती सुरु भएको छ ।  बैजनाथ गाउँपालिका–१, च्यामागाउँका ४३ वर्षीय सर्पराज बस्नेतले त्यस्तो खेती सुरु गर्नुभएको छ । बस्नेतले दुई कट्ठा जग्गामा ‘क्यामारोसा’ जातको स्ट्रबेरी खेती सुरु गर्नुभएको हो ।

भारतको पुणेबाट गत कात्तिकमा नौ हजार बिरुवा आयात गरेर रोप्नुभएका बस्नेतले ती बिरुवाले हाल आएर फल दिन सुरु गरेको जनाउँदै पहिलो सिजनमा नै राम्रो आम्दानी हुने सम्भावना देखेको बताउनुभयो । बिरुवा रोपेको छ महिनाभित्र स्ट्रबेरीले फल दिन थाल्छ ।  उहाँले खेती सुरु गर्नुअघि कृषि विज्ञ डाक्टर शसन देवकोटा र दाङका कृषि व्यवसायी वीरेन्द्र खड्कासँग सल्लाह लिएको बताउनुभयो । बाँकेको उष्ण वातावरणमा यो खेती सफल हुनेबारे प्रारम्भिक शङ्का भए पनि मेहनत र उचित परामर्शले सफलता मिल्नेमा आफू विश्वस्त रहेको उहाँले जनाउनुभयो । स्ट्रबेरी खेतीमा नियमित स्याहार, माटोको गुणस्तर र सिँचाइ व्यवस्थापन जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने सुझाव विज्ञबाट पाएको बस्नेतको भनाइ छ । उहाँले एक बोटबाट औसत आधा किलोदेखि पौने एक किलोसम्म उत्पादन लिन सकिने सम्भावना रहेको जानकारी पाएको बताउनुभयो । स्ट्रबेरी खेती बाँकेमा पहिलो पटक गरिए पनि बस्नेतले पहिलो सिजनमा नै चार लाख रुपियाँ बचत गर्ने लक्ष्य राख्नुभएको छ । यसका साथै खेती सफल भएमा बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना पनि उहाँले बनाउनुभएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यो खेती बाँके जिल्लाका लागि एकदमै नयाँ प्रयोग हो ।  माटोको उपयुक्तता र जलवायुको असरको गहिरो अध्ययन गरेर अघि बढेको हुँदा यो खेती सफल हुने सम्भावना धेरै देखिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 

स्ट्रबेरी खेतीमा ध्यान दिनुपर्ने चुनौती भए पनि राम्रो बजार मूल्य, उपभोक्ताको माग र उत्पादनबाट हुने आम्दानीले यसलाई आकर्षक बनाएको बस्नेतको भनाइ छ ।