गुल्मी समाचारदाता
गुल्मी, माघ २८ गते । गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर-३, धरमपानीका ४८ वर्षीय तुलबहादुर कार्की मृत अवस्थामा फेला परेका हुन् ।
माघ २६ गते बिहान घरमा कसैलाई पनि जानकारी नगराई हिड्नुभएका कार्की घर फर्केर नआउँदा छिमेकी, घरपरिवार र आफन्त मिलेर खोजतलास गर्दा पनि फेला नपरेको हुँदा सोमबार बिहान नाताले भतिज पर्ने राजु कार्कीले प्रहरीलाई फोनमार्फत मौखिक खबर गर्नुभएको थियो ।
खबर पाउनासाथ प्रहरी चौकी ठुलापोखराका प्रहरी वरिष्ठ हवल्दार अशोक कुमार धावलको कमाण्डमा दुई जना, प्रहरी चौकी वामिटक्सारबाट प्रहरी नायब निरीक्षक प्रकाश शाहिको कमाण्डमा पाँच जनाको र स्थानीय गरी अन्दाजी १४/१५ जनाको सहयोगमा खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
खोजतलास गर्दै जाँदा ३:३० बजेको समयमा धरमपानीस्थित खोल्सामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
मृतकको कार्कीको परिवारमा श्रीमती, दुई छोरा हुनुहुन्छ । फेला परेको शवलाई घटनास्थल सुरक्षित गरी राखिएको हुँदा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दाहालको कमान्डमा सात जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।