• ८ वैशाख २०८२, सोमबार

'भ्रष्टाचार विरुद्धको लडाइँ सबैको साझा हो'

blog

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), माघ २८ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भट्टले भ्रष्टाचार विरुद्धको लडाइँ सबैको साझा भएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा पोखरा कार्यालयले सोमबार आयोजना गरेको स्थापना दिवस विशेष समारोहमा उहाँले आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण भएकाले यस विरुद्ध सबै एकजुट हुनेपर्ने बताउनुभयो । 

“मुलुकको विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न आम नागरिकदेखि राज्यको उच्च पदमा रहेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्दछ”, प्रदेश प्रमुख भट्टले भन्नुभयो, “नेपालको संविधानले दिगो शान्ति, सुशासन, समृद्धि र विकासको परिकल्पना गरेकाले यो सपना त्यतिखेर मात्रै साकार हुन्छ जब हामीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता प्रदर्शन गर्न सक्छौँ ।” 

उहाँले सरकारी कार्यालयहरूले अबको दिनमा प्रवाह गर्ने सेवाहरुमा सरलीकरण गर्नुपर्ने र राज्यका सबै अङ्ग तथा अन्तर्गतका निकायले जनतालाई अपनत्व र विश्वास कायम हुने गरी आफ्नो काम कारबाहीलाई अगाडि बढाउनुपर्नेमा उहाँले जोड छ । “राज्यका निकायहरूबाट भइरहेको काम कारबाहीलाई नियाल्दा सेवा प्रवाहमा हुनुपर्ने सहजता र विकास निर्माण प्रक्रियामा जनतालाई गराउनुपर्ने सहभागितामा कमी देखिएको छ”,उहाँले भन्नुभयो, “सरकारी कार्यालयहरूले सम्पादन गरेको कार्यलाई पारदर्शी समेत बनाउन नसकेको तथ्य आयोगको वार्षिक प्रतिवेदनबाट जानकारी प्राप्त गरेँ, अगामी दिनमा पारदर्शी बनाउनेतर्फ राज्यका निकायले विचार पुर्‍याउनु पर्दछ ।” 

नेपालको संविधान एवं प्रचलित कानुनको अधिनमा रहेर भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आइरहेको आयोगले सदाचार, निष्पक्षता र निर्भिकता जस्ता मूल्य, मान्यता अङ्गिकार गरी संस्थाको जग बलियो बनाउनसमेत दिवसले भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

प्रविधिको उच्चतम प्रयोग गर्दै राष्ट्रसेवक कर्मचारीहरूले आफ्नो सीप, ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरेर व्यवस्थापकीय कुशलता प्रदर्शन गर्न सक्नुपर्नेमा उहाँको जोड छ । पूर्वाधार, शिक्षा, स्वास्थ्य, भूमि प्रशासन, कृषि लगायतको क्षेत्रमा जनताको बढी गुनासो आएकाले गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो ।