• २८ माघ २०८१, सोमबार

सत्तरी हजार चल्ला उत्पादन

blog

कुखुरा विकास फार्म खजुरामा चल्ला उत्पादनका लागि तयार अन्डा ।

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, माघ २८ गते । चल्ला उत्पादन गरेर पश्चिम नेपालभर वितरण गर्ने उद्देश्यसाथ बाँकेको खजुरामा सरकारले स्थापना गरेको कुखुरा विकास फार्मले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७० हजार चल्ला उत्पादन गरेको जनाएको छ । कुखुरा विकास फार्म खजुराका प्रबन्धक डा. सुमन खनालले चालु आवको हालसम्म फार्मले ७० हजार चल्ला र एक लाख १८ हजार ९२८ वटा अन्डा उत्पादन गरेको बताउनुभयो । 

उहाँका अनुसार गत आव २०८०/८१ मा फर्मले एक लाख ८१ हजार ९६६ चल्ला र दुई लाख ९० हजार १८१ अन्डा उत्पादन गरेको थियो । 

फार्मले स्थानीय रैथाने जातिको संरक्षण गरी उत्पादन भएका चल्ला किसानसम्म पुर्‍याउने लक्ष्य अनुरूप सात जातका घाँटी खुइले, उल्टे, साकिनी, खजुरा साकिने, कडकनाथ, ब्ल्याक अस्टलोप र न्यु हेम्पसार जातिका कुखुरा र रिङनेक कालिजको संरक्षण गरी चल्ला फार्मबाट दैनिक उत्पादन हुने अन्डा, एकदिने चल्ला, केही प्यारेन्ट कुखुरा र कुखुराको मल, बोरालगायतको बिक्रीवितरणबाट फार्मको आम्दानी हुने गरेको छ । फार्मले चल्ला र अन्डा बिक्री गरेर चालु आवको पुस मसान्तसम्म छ महिनाको अवधि ३३ लाख ३९ हजार ४१३ रुपियाँ आम्दानी गर्न सफल भएको जनाएको छ ।

फार्मबाट स्थानीय प्रजातिका चल्ला उत्पादन, आनुवांशिक स्रोत संरक्षण, नवीनतम जातका पन्छीहरूको अनुसन्धान र व्यावसायिक कृषकलाई प्राविधिक सेवा दिइँंदै आएको छ । फार्मबाट उत्पादित चल्ला न्यूनतम मूल्यको हुने र किसानलाई अधिकतम फाइदा हुने भएकाले अहिले कुखुरा विकास फार्म कुखुरापालक किसानका लागि आकर्षणको केन्द्र बनेको किसानहरूले नै बताएका छन् ।