• २८ माघ २०८१, सोमबार

पाइप लाइनबाट पेट्रोल यसै सातादेखि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २८ गते । पाइप लाइनबाट पेट्रोल आयात यसै सातादेखि हुने भएको छ । यसअघि डिजेल मात्र आयात हुने गरेकोमा अब पाइप लाइनबाट पेट्रोल र मटितेल आयात गर्न लागिएको हो । 

नेपाल आयल निगमले भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइप लाइनबाट डिजेलसँगै पेट्रोल र मटितेल ल्याउन लागेको हो । गत जनवरीदेखि नै पाइप लाइनबाट पेट्रोल ल्याउने भनिए पनि परीक्षणकै क्रममा रहेकाले ल्याउन ढिलाइ भएको निगमको मधेश प्रादेशिक कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले यसै सातादेखि पाइप लाइनबाट नियमित रूपमा पेट्रोल आयात गर्न लागिएको जानकारी दिनुभयो । “मोतीहारीदेखि पाइप लाइनबाट आयात गरिएको पेट्रोल अमलेखगन्जमा भण्डारण गरिन्छ,” अचार्यले भन्नुभयो, “अमलेखगन्जबाट पोखरा, जनकपुर र विराटनगरमा पेट्रोल आपूर्ति गरिन्छ ।”

पाइप लाइनबाट आयात गरिएको पेट्रोल भण्डारण गर्न तीन वटा ट्याङ्की निर्माण गरिएको छ । जसमा १७ हजार ४९० किलोलिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । बजारको आवश्यकता अनुसार पाइप लाइनबाट पेट्रोल आयात गरिने आचार्यले जानकारी दिनुभयो । हाल अमलेखगन्जबाट दैनिक पाँच सय किलोलिटर पेट्रोल खपत हुने गर्छ । कार्यालयले यसअघि पाइप लाइनबाट पेट्रोल आयात गरी सफल परीक्षण भएपछि नियमित रूपमा आयात गर्न लागेको हो । 

मोतीहारी अमलेखगन्ज पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणमा पाइप लाइनबाट पेट्रोल ल्याउन लागिएको हो । पाइप लाइनबाट बजार माग अनुसार दैनिक छ हजार किलोलिटर पेट्रोल आयात गरिने कार्यालयले जनाएको छ । निगमले २०७६ देखि पाइप लाइनमार्फत डिजेल आयात गरिरहेको छ । हाल पाइप लाइनबाट ल्याइएको डिजेल अमलेखगन्जमा भण्डारण गरी थानकोट, विराटनगर, जनकपुर, भैरहवा र पोखरामा वितरण भइरहेको छ । पाइप लाइनबाट पेट्रोल ल्याउँदा प्रतिलिटर १.५० पैसा मूल्य ढुवानी रकम बचत हुने निगमले जनाएको छ । हाल बरौनीबाट दैनिक १४ लाख लिटर पेट्रोल ट्याङ्रबाट आयात भइरहेको छ । पाइप लाइनबाट पेट्रोल आयात गर्दा मासिक पाँचदेखि छ करोड रुपियाँ र वार्षिक ६० देखि ७० करोड रुपियाँ ढुवानी रकम बचत हुने निगमले जनाएको छ ।