गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको आर्थिक उत्पादन संयन्त्रको इन्चार्जको जिम्मेवारी दिएको छ । पुनलाई पार्टीको पदाधिकारी बनाउने तयारी गरिए पनि विवाद भएपछि आर्थिक उत्पादनको संयन्त्र बनाएर इन्चार्जको जिम्मेवारी दिँदै पार्टीमा फर्काएको हो ।
माओवादीले हालै सम्पन्न आफूनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको ३२ बर्से उमेर हदबाट बिदा भएका नेतालाई पार्टीको ‘केन्द्रीय प्रतिनिधि’ बनाएर कार्यक्षेत्रमा खटाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङद्वारा आइतबार हस्ताक्षरित सर्कुलरमा यस्तो उल्लेख गरिएको छ ।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले अखिल क्रान्तिकारीको महासचिवभन्दा माथिका सबैलाई केन्द्रीय प्रतिनिधिका रूपमा मनोनयन गरेको जानकारी दिनुभयो । महासचिवभन्दा तलबाट ३२ बर्से उमेर हदका कारण बिदा भएका नेतालाई प्रदेश र जिल्ला तहमा खटाउने निर्णय भएको सर्कुलरमा उल्लेख छ । प्रवक्ता सापकोटाले भन्नुभयो, “विद्यार्थीको महासचिवभन्दा माथिल्लो पदमा पुगेकालाई केन्द्रीय प्रतिनिधि भनिएको छ । पार्टीले अर्को व्यवस्था नगर्दासम्म केन्द्रीय प्रतिनिधिका रूपमा
राखेको छ ।” विद्यार्थीबाट बिदा भएका केन्द्रीय प्रतिनिधि भएका पवन कार्कीले विधानबमोजिम केन्द्रीय सदस्य भन्न नमिल्ने भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा राखेको बताउनुभयो । केन्द्रीय प्रतिनिधि भनिए पनि केन्द्रीय सदस्य सरह नै बैठकमा जाने र अरू जिम्मेवारी हुने पार्टीसँग समझदारी भएको उहाँले बताउनुभयो ।
अखिल क्रान्तिकारीको ३२ बर्से उमेर हदबाट बिदा भएका उपाध्यक्ष जिपी मैनाली, क्षितिज सापकोटा र पवन कार्कीलाई केन्द्रीय प्रतिनिधि बनाएर बागमती प्रदेशमा खटाइएको छ । यस्तै तुकमान महरा, मिलन एमसी, केशव रावल र दिपेश पुनमगरलाई लुम्बिनी प्रदेशमा खटाइएको छ । मदन भट्टराई कोशी प्रदेश, गजेन्द्रनारायण देव मधेश प्रदेश, नरेश रेग्मी र नारायण खनाललाई विभाग (नीति) खटाइएको छ । यस्तै प्रवीणा अधिकारी गण्डकी, अमरराज शाहीलाई कर्णाली प्रदेशमा खटाइएको छ । लक्ष्मीप्रसाद जोशी, मदन भुल, अच्युत भट्टलाई सुदूरपश्चिम प्रदेशमा खटाएको छ ।