माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश साहित्य, कला, संगीतमा अब्बल रहेको भएको बताउनुभएको छ ।
पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शनिबार साँझ पोखरामा आयोजना गरेको ‘ब्याक टु नाइन्टिज’ (विरासतलाई फर्केर हेर्दा) कार्यक्रमको शुभारम्भ गर्दै उहाँले त्यस्तो बताउनुभयो ।
पोखरा पर्यटनको मात्र नभई संगीतको पनि राजधानी भएको दाबी उहाँले गर्नुभयो । सन् १९९० (पचासको दशक) को झल्को दिनेगरी त्यो बेलाको क्यासेट प्लेयर बजाएर मन्त्री गुरुङले कार्यक्रम शुभारम्भ गर्नुभएका हो ।
पोखरा पचासको दशकमा साँगीतिक ब्यान्डहरुको सहरका रुपमा परिचित भएको स्मरण गर्दै गुरुङले विरासतलाई हामीले भुल्न नहुने बताउनुभयो । ब्याक टु नाइन्टिज कार्यक्रमले पोखराका साँगीतिक ब्यान्डहरुलाई रिभाइब हुन उत्साह थप्ने उहाँको भनाइ छ । गण्डकी प्रदेशले धेरे स्रष्टाहरु जन्माएको गुरुङले बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आगामी फागुन ३ गते पोखरा भ्रमण वर्ष घोषणा गर्न लागिएको र उक्त कार्यक्रमको प्रवर्धनका लागि ब्यान्डहरुले जाउँ है पोखरा भन्दै देशका सबै सहरका साँगीतिक कार्यक्रम गर्ने बताउनुभयो । नब्बेको दशकमा उदाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याती कमाएका ७ वटा पोखराका साँगीतिक ब्यान्डहरुले प्रस्तुति राखेका थिए
कार्यक्रममा कन्दरा ब्यान्ड (विवेक श्रेष्ठ), डि–मर्चा ब्यान्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्यान्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली ब्यान्ड (शान्त बज्राचार्य), ब्रोसिस ब्यान्ड (प्रकाश राना), मध्यान्ह ब्यान्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोन्ड ब्यान्ड (श्यामसुङ तामाङ) ले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।
माघको चिसो मौसमको प्रवाह नगरी साँझको समयमा कार्यक्रम स्थलमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म कार्यक्रममा गीत सुन्न उपस्थित भएका थिए ।
करिब ३ घण्टा दर्शकहरु साँगीतक माहोलमा रमाएका थिए । कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य मनकुमार श्रेष्ठले हरेक वर्ष यस्ता कार्यक्रम अब पोखरमा आयोजना हुने बताउनुभयो । कार्यक्रममा प्रस्तुति राखेका ब्यान्डका गायकहरुले यो कार्यक्रमले आफूहरुलाई उत्साहित बनाएको र पचासको दशकको विरासतलाई फर्काउन प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।