नागेन्द्रकुमार कर्ण
महोत्तरी, माघ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मटिहानी बजार तथा मठको जग्गाबाट उठने करसम्बन्धी समस्याको निराकरणका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीमा उहाँलाई स्वागत गर्नुहुँदै मटिहानी बजार तथा मठको विभिन्न समस्याबारे जानकारी गराएपछि उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले मटिहानी बजार तथा मठको जग्गाबाट उठने करसम्बन्धी समस्याका लागि तत्कालै आफुले समिति बनाएर समस्या समाधानको पहल गर्ने बताउनुभयो । उहाँले समिति बनाएर समितिले दिएको राय, सल्लाह, सुझावको आधारमा परामर्श गरेर अगाडि बढ्ने बताउनुहुँदै मटिहानी बजार तथा मठको जग्गा समस्याको समाधानका लागि आफु हरसम्भव तयार रहने आश्वासन दिनुभयो ।
उहाँले भूमि आयोगले समेत कतिपय कामहरू गरिरहेको बताउनुहुँदै गुठीको जग्गाको संरक्षण, सम्बर्द्धनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । गुठीको जग्गा गुठी संस्थानले मात्रै संरक्षण नहुने भएकाले सबैलाई यस कार्यमा सहयोग, सल्लाह र सुझाव दिन मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।
जिल्लाको मटिहानीमा रहेको वैष्णव सम्प्रदायका सबैभन्दा ठुलो मठ लक्ष्मीनारायण मठको अवलोकनका लागि आउनुभएका मन्त्री अधिकारीलाई मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल तथा लक्ष्मीनारायण मठका उत्तराधिकारी रविन्द्र दास वैष्णवले दोसल्ला, मायाको चिनोसहित स्वागत तथा सम्मान गर्नुभएको थियो ।
सो अवसरमा नगरप्रमुख मण्डलले जिल्लाको पुरानो बजारको रूपमा रहेको मटिहानी बजारको समस्या तथा मटिहानीमा गुठीको जग्गा तथा समस्याबारे मन्त्रीलाई अवगत गराउनुभएको थियो । उहाँले मटिहानी बजारमा बसोवास गर्नेहरू मध्ये केहीले लालपुर्जा पाएको तर ४० भन्दा बढी घर परिवारको कित्ता नं. २५ को लालपुर्जा नपाउँदा समस्या देखिएकाले सो समस्या समाधानका लागि आग्रह गर्नुभयो ।
उहाँले मटिहानीमा रहेको गुठीको जग्गालाई मटिहानी नगरपालिकाले संरक्षण गरिरहेको बताउनुहुँदै यसमा गुठी संस्थान र मन्त्रालय समेतलाई जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो ।
अवलोकन कार्यक्रममा गुठी संस्थानका प्रशासक शैलेशराज कुँवर, सहायक प्रशासक बैकुण्ठ रेग्मी, गुठी सञ्चालक सदस्य दीपकराज पाठक लगायतका उपस्थिति रहेको थियो ।