• २५ माघ २०८१, शुक्रबार

हात्तीको आक्रमणबाट आठ वर्षमा चार जनाको मृत्यु, ३० घाइते

blog

वसन्त पराजुली 

नारायणगढ, माघ २५ गते ।  चितवन राष्ट्रिय निकुञ्ज भित्र कार्यरत कर्मचारी तथा नेपाली सेनामध्ये  हात्तीको आक्रमणबाट चारजनाको मृत्यु र ३० जना घाइते भएका छन् ।  विगत आठ वर्षको अवधिमा यो क्षति भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो ।

“हात्तीको आक्रमणमा पर्ने भनेको कि त हात्ती चराउन जादा हो कि घास काट्न जादा हो । कतिपय अवस्थामा नेपाली सेनाका जवानहरु भने गस्तिका क्रममा पनि हात्तीको आक्रमणमा परेका छन्”, उहाँले भन्नुभयो ।

पछिल्लो समय गत असोज १७ गते हात्ती प्रजनन केन्द्र खोरसोरमा कार्यरत जदूँ सिंहको मृत्यु भयो । खोरसोर क्षेत्रमै उहाँ माथि हात्तीले आक्रमण गरेको बताइन्छ ।

यस्तै, २०७८ वैशाख १ गते जैमनी ८ वाग्लुङ्गका गुप्तबहादुर थापा, २०७५ भदौ १४ गते बहुरी लाल सरदार र २०७४ मङ्सिर १६ गते राजकुमार श्रेष्ठको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको तथ्याङ्क निकुञ्जसँग छ ।

पछिल्लो समय हात्ती सुसारे र निकुञ्जका कर्मचारी तथा सेना हात्तीकै कारण असुरक्षित छन् भन्ने देखाउँछ । बुधबार मकुना नामको जङ्गली हात्ती निकुञ्जका सुरक्षाकर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा मरेको छ ।