• २५ माघ २०८१, शुक्रबार

खेलाडीको सम्झनामा फुटबल प्रतियोगिता

blog

पत्रकार सम्मेलनमा सहभागी अतिथि। तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, माघ २५ गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा रहेको मानेश्वरी ब्वाइज क्लबले आफ्ना दिवंगत पूर्वअध्यक्ष तथा खेलाडीको सम्झनामा खुला फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। 

क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबका पूर्वअध्यक्ष तथा फुटबल खेलाडी लक्ष्मीनारायण खिँबञ्जारको सम्झनामा ‘लक्ष्मीनारायण (लक्ष्य) स्मृति कप खुला फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको हो। 

सम्मेलनमा क्लबका अध्यक्ष रामकृष्ण श्रेष्ठले क्लबका पूर्वअध्यक्ष तथा खेलाडी लक्ष्मीनारायणको सम्झनामा फागुन ३ गतेबाट पनौतीको क्षेत्रीय रङ्गशालामा खुला फुटबल प्रतियोगिता सञ्चालन हुने बताउनुभयो। उहाँले फागुन ३ बाट सञ्चालन हुने प्रतियोगिताको तयारी भइरहेको बताउनुभयो। 

उहाँले स्वास्थ्य, समृद्ध र सुसंस्कृत जिल्ला र नगर निर्माणमा योगदान गर्दै  नगर र जिल्लालाई खेल पर्यटनस्थलको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो। प्रतियोगितामा नेपाका प्रतिष्ठित ए र बी डिभिजन क्लबका साथै जिल्ला र जिल्ला बाहिरका विभिन्न फुटबल क्लब, विभागीय टिम गरी १५ भन्दा बढी क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो। 

प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख, दोस्रो हुनेले नगद एक लाख रुपियाँका साथै शिल्ड तथा पदक प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगितामा प्रतियोगितामा अनुशासित क्लब, प्रतियोगिताभरको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट प्रतिरक्षक, उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान गरिने क्लबले जनाएको छ। 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले मानेश्वरी ब्वाइज क्लबले आफ्ना पूर्वअध्यक्ष तथा खेलाडीको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गरेर फुटबल खेलमा उहाँको योगदानको कदर गरेको बताउनुभयो। 

कार्यक्रममा पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठ, विश्राम समाजका अध्यक्ष ओमकृष्ण श्रेष्ठले पनौती तथा काभ्रेपलाञ्चोक जिल्लाका राम्रो फुटबल खेलाडी लक्ष्मीनारायणको सम्झनामा प्रतियोगिता आयोजना गरेर उहाँलाई सम्मान प्रकट गरेको बताउनुभएको थियो।