काठमाडौं, माघ २५ गते । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताउनुभएको छ । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ को वडा भवन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘‘संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन् । के गर्दा ठुलो कुरा हुने यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’’ उहाँले भन्नुभयो, ‘‘तपाईं हामीले होहल्ला गर्ने पछाडिको नियत के हो ? त्यो पनि बुझ्नुपर्याे नि । होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भनेर भन्छन् । छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्याे नि ।’’
उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गर्नुभयो । उहाँले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले नागरिकको सरकार स्थिर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको पनि प्रष्ट पार्नुभयो ।
त्यस्तै, फरक सन्दर्भमा उहाँले सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गर्नुभयो । उहाँले काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको बताउनुभयो । उहाँले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
वडाको प्रशासकीय भवन बनेपछि काठमाडौं २९ को सेवा प्रभावकारी बन्ने पनि सिंहले विश्वास व्यक्त गर्नुभयो ।