• २५ माघ २०८१, शुक्रबार

'स्वस्थ खानपानको अभाव र प्रदूषणका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्यो'

blog

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ २५ गते । नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमबिच डायलासिस सेवाको शुभारम्भ गर्नुभयो ।

डायलासिस सेवाको शुभारम्भ गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदूषणलगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको सङ्ख्या बढिरहेको बताउनुभयो । उहाँले मिर्गौला रोगीहरुको सङ्ख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको जिकिर गर्नुभयो ।

उहाँले मिर्गौला रोगीहरु बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद रहेको बताउनुभयो । उहाँले सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको बताउनुभयो ।

‘‘अहिले हाम्रोमा स्वस्थ खानपानको अभाव, प्रदूषणलगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको सङ्ख्या प्रतिदिन बढिरहेको छ । हाम्रो स्वास्थ्य व्यवस्थापनका सामुन्नेमा एउटा नयाँ चुनौतीको रुपमा उपस्थित भएको छ । यस्तो अवस्थामा मिर्गौला रोगीहरुको उपचारलाई केन्द्र भागमा राखेर सेवा विस्तार गर्नुपर्ने आजको आवश्यकता छ ।,’’ उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘‘सरकारले गरिरहेका प्रयासहरुमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल भएको छ । नेपाल नेशनल हस्पिटलले जुन ढङ्गले डायलसिस सेवा सुरु गरेको छ । त्यसका लागि अस्पताल परिवारप्रति बधाई भन्न चाहन्छु ।’’

यसैगरी, नेपाल नेशनल अस्पतालका आइसियु विज्ञ तथा निर्देशक डा. प्रकाश पौड्यालले नेपालमा अहिले मिर्गौला रोगीको अवस्था भयावह रहेको बताउनुभयो । उहाँले हरेक १६ जना वयस्क व्यक्तिमध्ये एक जना मिर्गौलाको बिरामी रहेको तथ्याङ्क रहेको जानकारी दिनुभयो ।

उहाँले यही अवस्थालाई दृष्टिगत गरेर अस्पतालले कलङ्की क्षेत्रमा मिर्गौला रोगीका लागि डायलासिस सेवाको शुभारम्भ गरेको जानकारी दिनुभयो । एक पटक मिर्गौला रोगी भएर डायलसिस सेवामा जानुपरेपछि बिरामीलाई धेरै गाह्रो हुने र औषधीको खर्च पनि धेरै हुने बताउनुभयो । उहाँले यसबाट परिवारमा पनि समस्या आउने गरेको धारणा व्यक्त गर्नुभयो ।

‘‘नेपालमा अहिले मिर्गौला रोगीको अवस्था अत्यन्त भयावह देखिएको छ । अहिलेको नेपालको स्थितिमा हेर्दा १६ जना वयस्क व्यक्तिमा एक जना मिर्गौला रोगी देखिने अवस्था आएको छ । १६ व्यक्तिमा एक जनालाई मिर्गौलाको समस्या देखिनु भनेको ठुलो हो ।,’’ उहाँले भन्नुभयो, ‘‘कलङ्की क्षेत्रमा सुविधासम्पन्न डायलसिस सेवा होस् र मिर्गौला रोगीलाई सुविधा होस् भनेर यो सेवा सुरु गरेका छौँ । एक पटक मिर्गौला रोगी भएर डायलसिस सेवामा जानुपरेपछि बिरामीलाई अत्यन्त गाह्रो हुन्छ । औषधीको खर्च पनि अत्यन्त ज्यादा छ । परिवारमा एक जना मिर्गौलाको बिरामी भएको खण्डमा सम्पूर्ण परिवार नै पीडित हुने अवस्था रहन्छ ।’’

उहाँले सर्वसुलभ र राम्रो सेवा दिने उद्देश्यले नेपाल नेशनल अस्पताल स्थापना गरिएको जानकारी दिनुभयो ।